वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साले विशेष सूचनाका आधारमा २ सय १३ किलो गाँजा बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार नियन्त्रण गर्न गणले पछिल्ला दिनमा “इन्टेलीजेन्स लेड अप्रेशन”लाई तीव्रता दिएको छ।
गणपति सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्टका अनुसार लागुऔषध दुव्र्यसनले समाजमा पार्ने गम्भीर असरलाई मध्यनजर गर्दै गणले प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध नियन्त्रणलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, बटसौरा क्षेत्रमा परालको कुन्युभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो।
२० वटा पोका सहित करिब २ क्विन्टल १३ किलोग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त बरामदसम्बन्धी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए।
तपाईको प्रतिक्रिया