वीरगञ्ज। लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्ड र तेरापन्थ युवक परिषद्को संयुक्त आयोजनामा परवानीपुरस्थित डी.ए.भी. आर.बी. केडिया स्कुलमा “भिजन फर भिजनलेस २.०” (Vision for Visionless 2.0) नामक आँखा दान सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई आँखा दानको महत्त्व, आँखा दान गर्ने प्रक्रिया, दानका लागि आवश्यक कानुनी तथा चिकित्सकीय पक्ष र आँखा दानले दृष्टिविहीन व्यक्तिको जीवनमा ल्याउन सक्ने सकारात्मक परिवर्तनका विषयमा जानकारी गराइएको थियो।
‘कसैको सुन्दर भोलिका लागि कारण बन्नुहोस्’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा वक्ताहरूले मृत्यु पश्चात् गरिने आँखा दानले कुनै दृष्टिविहीन व्यक्तिलाई संसार हेर्ने अवसर प्रदान गर्न सक्ने भएकाले यसलाई सामाजिक सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले आँखा दान केवल एउटा सामाजिक कार्य नभई मानव जीवनमा नयाँ उज्यालो भर्ने महान् मानवीय कार्य भएको बताए।
उनले भने, “हामीले जीवनभर प्राप्त गरेको दृष्टि मृत्युपछि पनि कसैको जीवनमा उज्यालो बन्न सक्छ। त्यसैले आँखा दानसम्बन्धी भ्रम हटाउँदै युवापुस्तादेखि नै यसको महत्त्वबारे सचेतना फैलाउन आवश्यक छ।” उनले विद्यार्थीहरू स्वयं सचेत हुनुका साथै आफ्नो परिवार र समुदायमा समेत आँखा दानको सन्देश पुर्याउन आग्रह गरे।
कार्यक्रममा लायन्स इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले आँखा दानसम्बन्धी जनचेतनाको कमीका कारण धेरै मानिसमा अझै पनि विभिन्न भ्रम रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
उनले भने, “आँखा दान गर्न डराउनुपर्ने कुनै कारण छैन। सही जानकारी र वैज्ञानिक प्रक्रियामार्फत गरिने आँखा दानले दृष्टिविहीन व्यक्तिको जीवनमा अमूल्य परिवर्तन ल्याउन सक्छ।”
त्यसैगरी लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी अध्यक्ष लायन खुश्बु अग्रवालले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताइन्।
उनले “दृष्टिविहीन व्यक्तिको जीवनमा उज्यालो ल्याउने उद्देश्यले सुरु गरिएको ‘भिजन फर भिजनलेस’ अभियानलाई आगामी दिनमा पनि निरन्तर विस्तार गरिने” जानकारी दिइन्।
तेरापन्थ युवक परिषद्का अध्यक्ष सुनिल दुगडले पनि आँखा दानसम्बन्धी सचेतना घर–घर र समुदायस्तरसम्म पुर्याउन विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए। उनले युवाहरू सामाजिक परिवर्तनका संवाहक भएकाले यस्ता अभियानमा उनीहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूले आँखा दानसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। आयोजकहरूले सहभागीहरूलाई आँखा दानसम्बन्धी सही जानकारी लिन तथा समाजमा फैलिएका भ्रम र गलत धारणाको अन्त्य गर्न आग्रह गरेका थिए।

सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवालले क्लबकी अध्यक्ष लायन खुश्बु अग्रवाललाई उत्कृष्ट कार्यक्रम गरे वापत लायन्स इन्टरनेशनल प्रेसिडेन्ट पिनबाट सम्मानित गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेत्र दानका सह-प्रभारी लोकेश जम्मार, नेत्र दान चिकित्सा अधिकारी हरिकान्त साह, नेत्र दान संयोजक सौरभ भटोरिया, पंकज वैद्य, डी.ए.भी. आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रा, विद्यालयका विद्यार्थी, शिक्षक, लायन्स क्लबका पदाधिकारी लायन आयुषी तुल्स्यान, लायन सोनी अग्रवाल, लायन कविता अग्रवाल, लायन रन्जना टेकरिवाल, लायन नितु चौरसिया लगायत क्लबका अन्य सदस्यहरू, तेरापन्थ युवक परिषद्का प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
आयोजकका अनुसार “Vision for Visionless 2.0” अभियानको मुख्य उद्देश्य आँखा दानसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै मृत्यु पश्चात् आँखा दान गर्ने संस्कारलाई समाजमा प्रोत्साहन गर्नु हो।
तपाईको प्रतिक्रिया