वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पहिलो चरण अन्तर्गत वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चौकसम्मका अव्यवस्थित तारहरू हटाइने र व्यवस्थापन गरिनेछ।
महानगरको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो। इन्टरनेट तथा टिभी केवल सेवा प्रदायक संस्थाहरूको रोहबरमा सम्पन्न बैठकमा ७ वटा इन्टरनेट सेवा प्रदायक र १ वटा टिभी केवल सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बारम्बार बैठकमा बोलाउँदा पनि अनुपस्थित हुने र महानगरको अभियानमा सहयोग नगर्ने सेवा प्रदायक संस्थाहरूलाई नियमानुसार कारबाही गरिने समेत बैठकमा सहमति भएको छ।
शहरको सौन्दर्यीकरण र सुरक्षालाई ध्यानमा राख्दै महानगरले यो कदम चालेको हो।
तपाईको प्रतिक्रिया