वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उनले प्रहरीलाई कानुन कार्यान्वयनमा कठोरता अपनाउन र सेवा प्रवाहलाई अझ नागरिकमैत्री बनाउन आग्रह गरे।
डीआईजी थपलियाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक वीरगन्ज भ्रमण गरेका हुन्। भ्रमणका क्रममा उनले प्रहरी कार्यालयका विभिन्न शाखा, थुनुवा कक्ष, ब्यारेक भवनलगायत संरचनाहरूको अवलोकन गर्दै भौतिक अवस्था र सरसफाइको स्थिति प्रत्यक्ष निरीक्षण गरे।
निरीक्षणपछि उनले आवश्यक सुधारका पक्षमा निर्देशन दिँदै भने,“प्रहरीको अनुशासन, इमानदारी र जिम्मेवारीमा कुनै सम्झौता गर्न सकिँदैन।”
उनले सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण, आपराधिक गतिविधि रोकथाम, र सूचना संकलन तथा प्रयोगमा प्रभावकारिता ल्याउन विशेष जोड दिएका थिए।
कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकसहित जिल्लाका सबै युनिट इन्चार्जहरू उपस्थित थिए।
तपाईको प्रतिक्रिया