वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पर्सा जिल्ला सभापति हरि पन्तले नेपाल पत्रकार महासंघले उठाएका माँग प्रति आफनो ए्क्यवद्धता जनाएका छन ।
आइतवार नेपाल पत्रकार महासंघ पर्साले आइतबार रास्वपा जिल्ला पार्टी कार्यालयअगाडि आयोजना गरेको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै सांसद पन्तले पत्रकारका मागलाई गम्भीरतापूर्वक लिने बताएका हुन् ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकार महासंघले उठाएका माग पार्टी सभापतिसमक्ष र सरकार प्रमुख समक्ष पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
महासंघका मागप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै उनले ती विषय आजै पार्टी सभापतिसमक्ष पुर्याउने प्रतिबद्धता जनाए ।
सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताउँदै पन्तले प्रेस स्वतन्त्रता र सञ्चार संस्थाहरूको संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासनसमेत दिए ।
महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयअगाडि धर्ना दिएको हो । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको आरोप लगाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममाथि अवरोध पुर्याउनेहरूमाथि कारबाही नभएको महासंघको आरोप छ ।
धर्ना कार्यक्रममा महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका पक्षमा धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया