हेटौंडा । सरकारले सञ्चारमाध्यम र पत्रकारमाथि हस्तक्षेप बढाएको भन्दै मकवानपुरका सञ्चारकर्मीहरूले विरोध जनाएका छन् ।
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने तथा सञ्चारगृहमा प्रहरी प्रवेश गराउने गतिविधिले प्रेस स्वतन्त्रता संकटमा परेको उनीहरूको ठहर छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चार संगठनका प्रतिनिधिहरूले सरकारको पछिल्लो गतिविधिप्रति आपत्ति जनाएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले समाचार प्रकाशन गरेकै कारण पत्रकारलाई पक्राउ गर्नु र बिना आधार सञ्चारगृहमा प्रवेश गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए ।
उनले शाही शासनकालमा समेत सञ्चारगृहमा सेना प्रवेश गर्दा समस्या उत्पन्न भएको स्मरण गर्दै वर्तमान सरकारका गतिविधि झनै चिन्ताजनक रहेको टिप्पणी गरे ।
त्यस्तै, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले कानुनी प्रक्रिया पूरा नगरी सञ्चारमाध्यममा प्रहरी पठाउने र पत्रकारलाई पक्राउ गर्ने कार्य लोकतान्त्रिक मूल्य तथा प्रेस स्वतन्त्रताको मान्यताविपरीत रहेको बताए ।
अन्तरक्रियामा महासंघका उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्मा तथा महासंघका पूर्वसचिव गणेश दर्पण अधिकारीलगायतले सरकारका गतिविधिबारे धारणा राखेका थिए ।
सहभागीहरूले सञ्चारमाध्यमलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न, पत्रकारमाथिको धरपकड रोक्न र प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।
तपाईको प्रतिक्रिया