logo

श्रीलाल–सुशिलपछि पप्पु पण्डित : समुन्नत अधिकारीका घुमुवामाथि किन दोहोरिन्छ असुलीको आरोप

 इसीमाना सम्वाददाता     २०८३ असोज १४ गते ०९: ४० मा प्रकाशित     149   पटक पढिएको

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा प्रहरी निरीक्षक समुन्नत अधिकारीले परिचालन गरेका घुमुवा प्रहरीमाथि अवैध रकम असुलीको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय पर्साले पप्पु पण्डितलाई जिल्ला तानेको छ।

 

पण्डितलाई घुमुवाका रूपमा परिचालन गरिएको केही समयमै १ लाख रकमसहित  जिल्ला तानिएको स्रोतको दाबी छ।

 

यसअघि पनि निरीक्षक अधिकारीले परिचालन गरेका श्रीलाल मण्डल र सुशिल मण्डललाई जिल्ला प्रहरी कार्यालय पर्साले यो भन्दा अघि तानेको थियो। 

 

उनीहरूमाथि पनि अवैध असुलीमा संलग्न भएको आरोप लागेको थियो। यस विषयमा उनीहरूमाथि के कारबाही भयो भन्नेबारे भने पर्सा प्रहरीले सार्वजनिक जानकारी दिएको छैन।

 

घुमुवा प्रहरी परिचालन र त्यसपछि उत्पन्न विवादबारे यसअघि पनि स्थानीय सञ्चारमाध्यममा प्रश्न उठ्दै आएका थिए। भदौ २३ गते प्रकाशित एक समाचारमा अधिकारीले  पप्पु पण्डितलाई घुमुवाका रूपमा परिचालन गरेको स्थानीय स्रोतको दाबी उल्लेख गरिएको थियो।

 

एक लाख असुलीको आरोप कसरी जोडियो 

 

स्रोतका अनुसार असोज १३ गते साँझ सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथवलका लक्ष्मण सहनी आफ्नै घरनजिक रहेको पोखरीमा माछालाई अक्सिजनको व्यवस्था गर्दै थिए।

 

 सोही समयमा मनवा बजारतर्फबाट फर्किरहेका प्रहरी निरीक्षक अधिकारीले सहनीलाई प्रहरी चौकी रंगपुर जानुपर्ने बताए।

 

सहनीले आफूलाई किन बोलाइएको हो भनेर सोध्दा उनका छोराविरुद्ध चेक बाउन्सको उजुरी परेको र त्यस विषयमा छलफल गर्नुपर्ने जवाफ दिइएको स्रोतको दाबी छ।

 

 आफूविरुद्ध कुनै उजुरी नरहेको भन्दै सहनीले प्रहरी चौकी जान अस्वीकार गरेपछि अधिकारीले नआए हतकडी लगाउन बाध्य हुने चेतावनी दिएको बताइएको छ।

 

त्यसपछि सहनी प्रहरीसँगै रंगपुर पुगेको र उनलाई  चौकीमा राखिएको स्रोतको दाबी छ।

 

सहनीलाई चौकीमा राखिएपछि आफन्तबाट  १ लाख बुझाउनुपर्ने अवस्था सिर्जना भएको र त्यही रकम पछि घुमुवा प्रहरी पप्पु पण्डितबाट बरामद भएको स्रोतको दाबी छ।

 

पंडित मार्फत लिएको रकम इन्सपेक्टर अधिकारीकामा जानु भन्दा पहिला नै सूचना पर्सा प्रहरी प्रमुखकोमा पुग्यो त्यसकारण पच्न पाएन ।

 

तर सहनीको पोखरिबाट इन्सपेक्टर अधिकारीले रहुमाछा लगेका थिए त्यो पक्कै पचेको हुनु पर्ने स्थानीय चिया पसलमा  चर्चा चलेको छ ।

रकम बुझाइएको जानकारी रंगपुरमा कार्यरत एक प्रहरी कर्मचारीले जिल्ला प्रहरी प्रमुख पवन भट्टराईलाई दिएकोसमेत स्रोतको दाबी छ।

 

 पर्साका प्रहरी प्रवक्ता डिएसपी चक्र मल्लले गुनासो आएपछि प्रहरी जवान पंडितलाई जिल्ला तानिएको जानकारी दिए ।

 

पहिले पनि विवादमा घुमुवा प्रहरी

पटेर्वा सुगौलीमा घुमुवा प्रहरी परिचालनको विषय नयाँ भने होइन। निरीक्षक अधिकारीले यसअघि परिचालन गरेका श्रीलाल मण्डल र सुशिल मण्डललाई पनि जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो।

 

 स्थानीयस्तरमा उनीहरूमाथि अवैध रकम असुली गरेको आरोप उठेपछि उनीहरूलाई जिल्ला तानिएको बताइए पनि त्यसपछि उनीहरूमाथि भएको विभागीय कारबाहीबारे पर्सा प्रहरीले कुनै स्पष्ट विवरण सार्वजनिक गरेको देखिँदैन।

 

स्थानीय सञ्चारमाध्यममा पनि अधिकारीले घुमुवा परिचालन गरेको र त्यसको प्रभावकारितामाथि प्रश्न उठेका समाचार प्रकाशित भएका छन्।

 

अवैध गतिविधि नियन्त्रण गर्ने जिम्मेवारीमै प्रश्न

पटेर्वा सुगौली क्षेत्रमा लागुऔषध, अवैध मदिरा, भन्सार छलीका सामान तथा नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार भइरहेको आरोप स्थानीयस्तरमा उठ्दै आएको छ।

 

मिलनचोक, बडनिहार, हरपुर, मनवा बजार, पञ्चगावा बजार, निचुटा, देउरिया र मनिहरवा लगायतका क्षेत्रमा प्रतिबन्धित पदार्थको कारोबार हुने गरेको स्थानीयको दाबी छ।

 

तर यस्ता गतिविधि नियन्त्रण गर्न परिचालन हुने प्रहरीकै घुमुवा कर्मचारीमाथि पटक–पटक अवैध असुलीको आरोप लाग्नुले प्रहरीको सूचना संयन्त्र, कमान्ड कन्ट्रोल र आन्तरिक निगरानीमाथि प्रश्न खडा गरेको छ।

 

यसअघि पनि पटेर्वा सुगौली प्रहरीको व्यावसायिक निष्ठा र कमान्ड कन्ट्रोलमाथि प्रश्न उठेपछि अतिरिक्त प्रहरी टोली परिचालन गरिएको समाचार सार्वजनिक भएको थियो।

 

१७ किलो गाँजा बरामदको घटनामा पनि विवाद

 

पटेर्वा सुगौलीमा प्रहरी कारबाहीसँग सम्बन्धित अर्को घटनामा पनि स्थानीयले प्रश्न उठाएका छन्। भदौ २५ गते राति सुरज यादवको घरमा छापा मारिएको र त्यहाँबाट केही फेला नपरेको स्थानीयको भनाइ छ।

 

त्यसपछि सोही वडाको भथौडा टोलबाट ६९ वर्षीय दुःखी महतो नुनियालाई पक्राउ गरी उनको गोठबाट गाँजा बरामद गरिएको प्रहरीको दाबी सार्वजनिक भएको थियो।

 

विभिन्न सञ्चारमाध्यमले भने बरामद गाँजाको परिमाण फरक–फरक उल्लेख गरेका छन्। एक समाचारमा सुरज यादव र दुःखी महतो नुनियालाई १८ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीको भनाइ प्रकाशित भएको छ। अर्को समाचारमा १८ किलो ७०० ग्राम गाँजा बरामद भएको उल्लेख छ।

 

महतोका आफन्त तथा स्थानीयको दाबी भने प्रहरीको विवरणभन्दा फरक छ।

 

क्यान्सरको उपचार गराइसकेका वृद्ध महतोले आफूलाई रातिको समयमा केही व्यक्तिले उठाएर लगेको र गाँजा आफ्नो भएको आफूलाई थाहा नभएको बताएका छन्। उनले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।

 

अब  १ लाखसहित जिल्ला तानिएका भनिएका पप्पु पण्डितमाथि विभागीय छानबिन हुन्छ कि  साथै यसअघि तानिएका श्रीलाल मण्डल र सुशिल मण्डलमाथि भएको कारबाही के हो भन्ने विषयमा पर्सा प्रहरीको आधिकारिक जवाफ महत्वपूर्ण हुनेछ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.