तस्विरः बाँयाबाट क्रमश बिवेक पाण्डे, पप्पु पंडित र इन्सपेक्टर अधिकारी
वीरगन्ज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको कार्यक्षेत्रअन्तर्गतका विभिन्न बजार क्षेत्रमा अवैध गतिविधि बढिरहेको स्थानीयले आरोप लगाएका छन् ।
लागुऔषध, अवैध मदिरा, भन्सार छलीका सामान तथा नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार भइरहेको आरोप सार्वजनिक भइरहँदा त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी प्रशासनको निगरानी प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ ।मिलनचोक, बडनिहार, हरपुर, मनवा बजार, पञ्चगावा बजार, निचुटा, देउरिया, मनिहरवा लगायतका क्षेत्रमा रहेका केही पसलबाट गाँजा, चरस तथा प्रतिबन्धित पदार्थका साना पुडिया बिक्री हुने गरेको स्थानीयको दाबी छ ।
यस्ता गतिविधिबारे स्थानीयस्तरमा चर्चा भइरहँदा समेत प्रहरीले प्रभावकारी अनुसन्धान र कारबाही अघि नबढाएको उनीहरूको गुनासो छ ।
यदि यस्तो गतिविधि नियमित रूपमा भइरहेको हो भने सम्बन्धित प्रहरी कार्यालयको सूचना संयन्त्र र गस्ती प्रणालीले किन नियन्त्रण गर्न सकेन भन्ने प्रश्न उठेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले यसअघि परिचालन गरेका घुमुवा श्रीलाल मण्डल र सुशिल मण्डल बिवादमा परेका थिए ।
उनीहरूमाथि विगतमा अवैध रूपमा रकम असुली गरेको आरोप लागेको विषयसमेत स्थानीयस्तरमा उठ्ेको थियो ।
हाल उनीहरू जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा ड्युटीमा खटिएको बताइएको छ ।
यसैबीच निरीक्षक अधिकारीले विवेक पाण्डे र पप्पु पण्डितलाई घुमुवाका रूपमा परिचालन गरेको स्थानीय स्रोतको दाबी छ ।
यही अवस्थामा सीमा तथा बजार क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न घुमुवा परिचालनको रणनीति कति प्रभावकारी भइरहेको छ भन्ने प्रश्न थप गम्भीर बनेको छ ।
घुमुवा प्रहरीको मुख्य उद्देश्य सीमा क्षेत्र तथा अपराधका सम्भावित गतिविधिबारे सूचना संकलन गरी सम्बन्धित कार्यालयलाई जानकारी गराउनु र अपराध नियन्त्रणमा सहयोग गर्नु हो ।
तर प्रहरीकै निगरानी क्षेत्रभित्र लागुऔषध बिक्री, अवैध मदिरा उत्पादन, भन्सार छली तथा तस्करीका आरोप निरन्तर आइरहेका छन् भने घुमुवा संयन्त्रले वास्तवमा के सूचना संकलन गरिरहेको छ ? सूचना प्रहरी नेतृत्वसम्म पुगिरहेको छैन कि पुगे पनि कारबाही भइरहेको छैन ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।
त्यसैगरी बालुवा तथा गिट्टीको अवैध उत्खनन र ओसारपसारसमेत तीव्र रहेको स्थानीयको आरोप छ ।
विशेषगरी घुमुवा परिचालन गरिएका क्षेत्रमै अवैध मदिरा, लागुऔषध, तस्करी र नदीजन्य पदार्थको कारोबारबारे स्थानीयबाट गुनासो आउनुले घुमुवा संयन्त्रको उपलब्धि र जवाफदेहिताको मूल्यांकन गर्नुपर्ने अवस्था देखिएको छ ।
तपाईको प्रतिक्रिया