बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयको प्रदर्शन थप चर्किएको छ।
घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने तथा बालिका हराएपछि खोजीमा भएको भनिएको ढिलासुस्तीबारे छानबिन गरी सम्बन्धित प्रहरी कर्मचारीमाथि समेत कारबाही गर्नुपर्ने माग राख्दै स्थानीयले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।

प्रदर्शनकारीले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। विरोधका क्रममा सिमरा क्षेत्रमा सडकसमेत अवरुद्ध भएको छ।
बालिका साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। मंगलवार उनको शव जितपुरसिमरा–१ भक्तिनगरस्थित एक खाली घरमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट बालिकामाथि यौन हिंसा गरी हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बालिकाको हत्या र घटनाको अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर स्थानीयमा आक्रोश बढ्दै गएको छ। प्रदर्शनकारीले दोषीलाई कडा कारबाहीसँगै बालिका हराएको सूचना पाएदेखि शव भेटिएसम्म प्रहरीले गरेका सम्पूर्ण कामको विवरण सार्वजनिक गर्नसमेत माग गरेका छन्।
यस घटनाको विरोधमा सिमरा पर्साको परवानीपुर ,डुमरवाना र काठमाडौंमा समेत प्रदर्शन भएको छ। न्यायको माँग गर्दै सडकमा उत्रिएका नागरिकको प्रर्दशनका कारण बारा पर्साको यातायात ब्यवस्था प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया