वीरगञ्ज । मिडिया काउन्सिल जनकपुरधामको आयोजनामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” वीरगञ्जस्थित होटल वृन्दावनमा सम्पन्न भएको छ।
एकदिने उक्त कार्यक्रममा पत्रकारिताको विश्वसनीयता अभिवृद्धि, व्यावसायिक मर्यादा कायम तथा सञ्चार माध्यमप्रति जनविश्वास बढाउने पत्रकारले निर्वाह गर्नु पर्ने कामका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए ।
उनले सामाचार बनाउनकालागि प्रभावकारी संचारको सीपका बारेमा जान्नु पर्ने अनिवार्य रहेको बताएका थिए । उनले भने प्रभावकारी संचार सीपको अभावमा अन्यौलतामात्र सृजना हुने जोखिम ज्यादा रहने भएकोले पत्रकारले पहिला संचारको तत्वहरुको बारेमा जान्नु पर्ने बताए ।

उनले पत्रकारिताले सामाजिक उत्तरदयीत्व निर्वहन गर्नु पर्ने बताउदै जे मन लाग्यो त्यही प्रकाशन र प्रशरण गर्न नहुने बताए ।उनले पत्रकारितामा सत्यता, निष्पक्षता, उत्तरदायित्व, स्रोतको गोपनीयता, तथा डिजिटल युगमा देखिएका चुनौतीबारे विस्तृत प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणका क्रममा सहभागी सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, समाचार सम्प्रेषणमा तथ्यपरकता, गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रण, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा व्यावसायिक पत्रकारिताका मूल्यमान्यताबारे जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत रहेका थिए भने मिडिया काउन्सिल जनकपुरधामकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समितिका संयोजक के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव तथा विश्व पत्रकार महासंघका दीपेन्द्र चौहान मिडिा काउन्सिलका सदस्य रिन्कु मिश्र, मन्नु पासवान लगायत सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध १ सय भन्दा बढी पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले पत्रकारिताको व्यावसायिक स्तर अभिवृद्धि गर्न तथा जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
तपाईको प्रतिक्रिया