वीरगंज । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डे प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती सप्तरी र बाराको गढीमाई मन्दीर दर्शन गर्न जाने क्रममा पक्राउ परेको खुलेको छ ।
बैशाख ३० गते सिन्धुलीबाट प्रक्राउ परेका पाण्डेका बिषयमा “भग्दै गर्दा पक्राउ” परेको भाष्य निर्माण भएकोमा त्यसमा सत्यता नरहेको खुलेको छ । धर्मप्रति भक्तिभाव राख्ने पाण्डे बाराको गढीमाईमा हरेक महिना आउने गरेको त्याहाका प्रमुख पुजारी चन्द्रदेव चौधरीले बताए ।
उनले पाण्डे २५ वर्ष अघिदेखी मन्दीरमा नियमित आउने गरेको जानकारी दिए ।
पाण्डेले मन्दीरमा साउण्ड सिस्टम लगायतका समाग्री समेत उपलब्ध गराएको पुजारी चौधरीले बताए । उनले मन्दीरको गजुर देखाउदै झाल बाजा उपलब्ध गराएका पाण्डे सज्जन मान्छे भएको उनले बताए ।
माओवादी जनयुद्धताका समस्यामा परेका पाण्डे गढीमाताको आर्शिवादका कारण आफू बाँचेको ठान्दछ ।

त्यही भएर उनले कुनै नयाँ काम शुरु गर्नु भन्दा अघि र नियमित रुपमा गढीमाताको दर्शन गर्न जाने गरेका थिए ।सप्तरीको छिन्नमस्ता मन्दीरमा पनि पाण्डे दर्शनकालागि नियमित जाने गरेको त्याहाका पुजारीले बताएका छन ।
उनले पाण्डे निकै धार्मिक प्रवृत्तिको मान्छे भएको र उनले गरिब दीनदुखीलाई निकै मद्दत गर्ने गरेको स्मरण गरे । उनले ज्योती पाण्डे पक्राउ परेको सुनेर निकै चिन्ता ब्यक्त गरे ।
गढीमाताको मन्दीर परिसरमा पुजा सामाग्री बेच्दै आएकी पार्वतीया देवीले पाण्डेको बारेमा चिन्ता ब्यक्त गरिन । उनले भनिन्, ‘पाण्डे राम्रो मान्छे हुन उनलाई पक्कै पनि फसाउन खोजिदै छ राम्रो मान्छेलाई नफसाउन् जसरी पनि बचाउ भगवानको भक्तले पाप गर्दैनन् ।
’ पाण्डेका परिवारिक स्रोतले समेत उनी भाग्दै गर्दा समातिएको भन्ने भाष्य प्रति असन्तोष जनाएको छ । छिन्नमस्ता मन्दीरका मुख्य पुजारी र गढीमाईका पुजारीको कुराले पनि पाण्डे भागेको हुन भन्ने कुरालाई खण्डन गर्दछ । पाण्डेलाई नेपाल प्रहरीको सीआइवीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको थियो ।
उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यसैवीच धितो लिलामी गरेर कर्जा असुली गर्दा सीईओ थुन्ने हो भने बैंकको स्थायित्वमा आँच पुग्ने भन्दै बैंक तथा वित्तीय संस्थाका चार वटै संगठनहरूले विरोध जनाएका छन् ।
स्मार्ट टेलिकमले इन्भेस्टमेन्ट बैंकबाट लिएको ४ अर्ब ६० करोड ऋण नतिरेपछि टेलिकमका उपकरण लिलाम गरी बैंकले असुल गरेको थियो । पाण्डेको पक्राउबारे बैंक तथा वित्तीय संस्थाका चार वटै संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयूक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीतिरनिर्देशनको अधिनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह हुँदै आएको बैंक तथा वित्तीय संस्थाका संगठनले जनाएका छन् ।

त्यसैगरि एनआईएमबी बैंकले पनि आफनो एक बिज्ञप्ति मार्फत आफनो आधिकारी धारणा सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन गर्ने प्रचलित ऐन कानून, विशेषगरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ५७ एवं सुरक्षित कारोबार ऐन २०६३ ले दिएको अधिकार तथा यस बैंकको कर्जा असुली निर्देशिकाको पूर्णरूपमा पालना गर्दै निक्षेपकर्ताको निक्षेपबाट प्रवाह भएको कर्जा असुली गर्नुपर्ने कानुनी दायित्व तथा जिम्मेवारी अन्तर्गत रही बैंकले कर्जा असूली प्रक्रिया अनुसार उक्त कारबाही अघि बढाइएको एनआईएमबीले सार्वजनिक गरेको विज्ञप्तिमा जनाएको छ ।
यस सम्बन्धमा सम्बन्धित निकायबाट माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग अनुसन्धान प्रयोजनका लागि बैंकले समयमा नै उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता एनआईएमबीले व्यक्त गरेको छ ।
एनआईएमबीले ३ असोज २०८२ मा ऋणी स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण लगायत सामाग्री लिलामीको सूचना प्रकाशित गरी सोही सूचना बमोजिम लिलाम बिक्री भई प्राप्त भएको कूल ४ अर्ब ६० करोडबाट ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा सुविधा चुक्ता भुक्तान भई सम्बन्धित निकायबाट खाता रोक्का रहेका कारण बाँकी रकम ३८ करोड बैंकको ‘अर्नेस्ट मनी अक्सन एकाउन्ट’ मा बाँकी रहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया