वीरगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लामा उत्साहका साथ उम्मेदवारी दर्ता सम्पन्न भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट गरी १ सय ९ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
मुख्य निर्वाचन कार्यालय पर्साका अनुसार चार सिटका लागि सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन्। कार्यालयका प्रवक्ता यादवप्रसाद जोशीले निर्वाचन प्रक्रियामा दल र स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिता देखिएको जानकारी दिए।
निर्वाचन कार्यालयका तथ्याङ्कअनुसार क्षेत्र नम्बर–१ मा ३०, क्षेत्र नम्बर–२ मा ३२, क्षेत्र नम्बर–३ मा २३ र क्षेत्र नम्बर–४ मा २४ जनाले मनोनयन दर्ता गराएका छन्।
यसपटक पर्साका चारै क्षेत्रमा कांग्रेस, एमाले, नेकपा, रास्वपा, जसपा नेपाल, जनमत पार्टी, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति पार्टीसहित विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिएको छ।
क्षेत्र नम्बर–१
यस क्षेत्रमा ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रमुख दलतर्फ कांग्रेसबाट अनिलकुमार रुंग्टा, एमालेबाट पूर्वमन्त्री प्रदीप यादव, जसपा नेपालबाट रामनरेश यादव, रास्वपाबाट हरि पन्त, जनमतबाट ओमप्रकाश सर्राफ र नेकपाबाट अजय चौरसिया उम्मेदवार रहेका छन्।
क्षेत्र नम्बर–२
सबैभन्दा धेरै उम्मेदवारी परेको क्षेत्र नम्बर–२ मा ३२ जना चुनावी मैदानमा छन्। कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रिमा यादव, जसपा नेपालबाट अशोक टेमानी, रास्वपाबाट सुशिल साह कानु, जनमतबाट श्याम गुप्ता र नेकपाबाट मनोज चौधरी प्रमुख उम्मेदवार हुन्।
क्षेत्र नम्बर–३
क्षेत्र नम्बर–३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रुपेश पाण्डे, जसपा नेपालबाट कमोद निराला, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रामाकान्त चौरसिया र जनमतबाट माल्ती कुशवाहा मुख्य प्रतिस्पर्धी मानिएका छन्।
क्षेत्र नम्बर–४
यस क्षेत्रमा २४ जनाले मनोनयन दर्ता गराएका छन्। कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, रास्वपाबाट टेकबहादुर शाक्य, जसपा नेपालबाट कृपासिन्धु चौधरी र जनमतबाट सिमादेवी कलवार चुनावी मैदानमा छन्।
चारै निर्वाचन क्षेत्रमा अनुभवी नेता, नयाँ अनुहार र स्वतन्त्र उम्मेदवारको सहभागिताले यसपटक पर्साको निर्वाचनलाई प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने संकेत देखिएको छ।
तपाईको प्रतिक्रिया