वीरगन्ज । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएसँगै जिल्लाको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गरेको छ।
कांग्रेसले पर्सा क्षेत्र नम्बर १ बाट अनिल रुङ्गटा, क्षेत्र नम्बर २ बाट अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजाललाई उम्मेदवार बनाएको हो। यी नामहरू केन्द्रबाट अनुमोदन भएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र पार्ने तयारी कांग्रेसले थालेको छ।
नेपाली कांग्रेसले क्षेत्रीय समितिहरुले सिफारिश गरेकै नामबाट उम्मेदवारको टुङ्गो लगाएकोले नेपाली कांग्रेसमा उत्साह संचार छ ।
नेपाली कांग्रेसको केन्द्रमा आएको नयाँ नेतृत्वको स्वीकारोक्तिको रुपमा समेत यो निर्वाचनमा नेपाली कांग्रेस भाग लिदै गरेको स्नदेश प्रवाह गर्न सफल भएकोले पनि नेपाली कांग्रेसका कार्यकर्तामा उत्साह भरिएको एक बिश्लेषकको मत रहेको छ ।
उनका अनुसार यसपटक नेपाली कांग्रेस घात अन्तर्घातको दुःखद नियतीबाट भने मुक्त हुने छ । नेपाली कांग्रेसको हिजोको संरचनाको कुरा गर्ने हो भने अहिले पर्सामा उम्मेदवार पाएका चारै जना हिजोको संस्थापन समुहका नेता हुन तर आजको नेतृत्वले पनि त्यही नेतालाई निरन्तरता दिनुलाई नेपाली कांग्रेसको आमपंक्तिले पार्टी भित्रको “रणनीति”को रुपमा लिएका छन ।
विशेषतः पर्सा–२ मा अजयकुमार चौरसियाको उम्मेदवारीलाई लिएर पार्टीभित्र मिश्रित प्रतिक्रिया छ। उनी कांग्रेसका अनुभवी नेता भए पनि यस क्षेत्रका युवा कार्यकर्ता र नयाँ अनुहारलाई अवसर दिनुपर्ने आवाज दबिएको स्रोतहरूको दाबी छ। यद्यपि, पार्टी नेतृत्वले जित सुनिश्चित गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिएको तर्क गरेको छ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य अजय चौरसियाले चारै क्षेत्रमा उम्मेदवार टुंग्याइसकेपछि अब आन्तरिक मतभेदलाई थाती राखेर चुनावी अभियानमा केन्द्रित हुने बताए। “अब संगठन परिचालन, मतदाता भेटघाट र विपक्षीको रणनीति विश्लेषणमा पार्टी लाग्छ,” उनले भने।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सामा कांग्रेसले उम्मेदवार टुंग्याएसँगै एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपा पार्टी र अन्य शक्तिहरूसँगको प्रत्यक्ष प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ। उम्मेदवार छनोटले कांग्रेसलाई एकताबद्ध अभियानमा लैजान्छ वा आन्तरिक असन्तुष्टिले चुनौती थप्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने उनीहरूको भनाइ छ।
तपाईको प्रतिक्रिया