वीरगन्ज । यस वर्षको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार गोविन्द देवकोटा लाई प्रदान गरिएको छ।
लामो समयदेखि सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रका समस्याबारे निरन्तर कलम चलाउँदै आएका देवकोटालाई नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्णयअनुसार नगद ५१ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो।
पुरस्कार वितरण समारोहमा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले पत्रकार देवकोटालाई सम्मान गरेका हुन्।
पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै देवकोटाले स्वर्गीय गोपाल गिरीको नाममा स्थापित पुरस्कारले आफूलाई थप जिम्मेवार र समाजप्रति अझ प्रतिबद्ध भएर पत्रकारिता गर्न प्रेरित गरेको बताए।
उनले भने, “मैले करिब तीन दशक समाजका लागि पत्रकारिता गरेको छु। यो पुरस्कारले मलाई अझै गम्भीर र उत्तरदायी भएर कलम चलाउन हौसला दिएको छ।”
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री पटेलले पत्रकारितामा प्रशिक्षणको खाँचो औँल्याए।
पछिल्लो समय राजनीतिक दलसँगै मिडियाहरू पनि बढ्दै गएको उल्लेख गर्दै उनले मिडिया समाजको ऐना भएकाले यसको विस्तार सकारात्मक भए पनि समाचार सम्प्रेषणमा आचार संहिताको पालना आवश्यक रहेको बताए।
विशेषगरी मधेस क्षेत्रमा पत्रकारहरूका लागि नियमित तालिम आवश्यक रहेको उनको भनाइ थियो। “जसरी राजनीतिक दलका कार्यकर्तालाई प्रशिक्षण दिइन्छ, त्यसरी नै पत्रकारलाई पनि व्यावसायिक प्रशिक्षण दिन जरुरी छ,” मन्त्री पटेलले भने।
उनले मधेसको मिडिया क्षेत्रलाई बलियो र गुणस्तरीय बनाउन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए।
कार्यक्रममा सहभागी वक्ताहरूले केही सञ्चार माध्यमले आधारभूत पत्रकारिताका सिद्धान्तसमेत पालना नगरेको भन्दै चिन्ता व्यक्त गरे।
समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, कोषाध्यक्ष रामकृष्ण अधिकारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले आ–आफ्ना धारणा राखेका थिए।
तपाईको प्रतिक्रिया