वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी प्रतिनिधि सभा निर्वाचनपछि देशले इतिहासमै पहिलोपटक मधेसी प्रधानमन्त्री पाउने दाबी गरेका छन्।
फागुन २१ गते हुने निर्वाचनपछि मधेसकै युवा नेतृत्व बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा अघि बढाइने उनले बताए।
वीरगञ्ज महानगरपालिका–१ मा सम्पन्न रास्वपाको प्रथम वडा भेलालाई सम्बोधन गर्दै सभापति पन्तले मधेसको छोरालाई देशको सर्वोच्च कार्यकारी पदमा पुर्याउने अभियान ऐतिहासिक र गर्वको विषय भएको उल्लेख गरे।
अब परिवर्तनको लहर सुरु भइसकेको भन्दै मधेसका युवालाई नेतृत्वमा पुग्नबाट कसैले रोक्न नसक्ने उनको भनाइ थियो।
छपकैया बजारमा सम्पन्न उक्त भेलाबाट धुरूप साहको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा मनोज कुमार, सचिवमा धीरज साह कलवार चयन भएका छन्।
सदस्यहरूमा धुरेन्द्र साह तेली, ललन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास, असलम मियाँ, राधे साह तेली, गिरिजा देवी ठाकुर र उमराबती देवी रहेका छन्। साथै, बैजु साह, मिकाइल मियाँ र श्याम साहलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।
भेला राष्ट्रिय स्वतन्त्र पार्टी वीरगञ्ज महानगरपालिकाका सभापति अमन आलमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नम्बर १ का ठूलो संख्यामा स्थानीयवासीहरूले पार्टीमा प्रवेश गरी रास्वपाप्रति बढ्दो जनसमर्थन देखाएका थिए।
कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। भेलालाई पार्टीका केन्द्रीय सदस्य डा.नन्दन यादव, क्षेत्रीय सभापति राम आर्यलगायत नेताहरूले सम्बोधन गरेका थिए भने किसान साहले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा महानगर उपाध्यक्ष परितोष द्विवेदी, सचिव गौतम श्रेष्ठ, जिल्ला सचिव सुदिष प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, फैयाद मियाँलगायत पार्टीका अगुवा नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया