वीरगंज । मधेश प्रदेशमा सरकार गठनमा देखिएको पेचिलो राजनीतिक प्रक्रियाले अन्ततः स्पष्ट मोड लिएको छ। जनकपुरमा बसेको सात दलबीचको निर्णायक संवादपछि मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउने सहमति बनेको छ।
यो जानकारी नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य श्याम पटेलले सार्वजनिक गरेका छन्। उनका अनुसार लामो छलफल र राजनीतिक समन्वयपछि अन्य दलहरू कांग्रेसलाई मुख्यमन्त्रीको नेतृत्व दिन सहमत भएका हुन्।
सत्ता–समिकरण निकै जटिल बने पनि अन्ततः नेपाली कांग्रेसको नाममा सहमति जुटेसँगै सरकार गठनको प्रक्रिया सहज हुने भएको छ। दलहरूबीचको अविश्वास, पद–भागबण्डा र शक्ति–समीकरणका विवादले केही दिनदेखि मधेश प्रदेशको राजनीति तनावपूर्ण बनेको थियो।
सहमतिको आधारमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति श्रीकृष्ण यादव नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ। यादव नेतृत्वमा बन्ने नयाँ सरकारले प्रदेशमा स्थिरता र समन्वयकारी भूमिका खेल्ने अपेक्षा राजनीतिक वृतले व्यक्त गरेको छ।
यता, सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयभित्रै दाबी पेश गर्ने तयारी दलहरूले तीव्र रूपमा अघि बढाइरहेका छन्। आवश्यक हस्ताक्षर, समर्थन र औपचारिक कागजात तयार गर्ने काम अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
मधेश प्रदेशमा राजनीति लामो समयपछि निर्णायक निष्कर्षमा पुग्दै गर्दा अब नयाँ सरकारको नीति, प्राथमिकता र कार्यशैलीले प्रदेशको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने विश्लेषकहरू बताउँछन्।
चार दलका नेताहरूले औपचारिक रूपमा हस्ताक्षर पनि गरिसकेका छन् भने बाँकी दुई दलले केहीबेरमै दस्तखत गर्ने बताएका छन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभले आह्वान गरेको समयसीमाभित्रै सरकार गठनको दाबी पेस गर्ने तयारी गरिएको सांसदले बताए।
सरकार गठनका दाबी पेस गर्न अब डेढ घन्टा मात्र बाँकी हुँदा प्रदेश राजधानी जनकपुरमा राजनीतिक दौडधुप तीव्र बनेको छ।
तपाईको प्रतिक्रिया