वीरगंज । बाराको सिमरा विमानस्थलमा बुधबार उत्पन्न घटनाप्रति विभिन्न राजनीतिक दलले प्रतिक्रिया जनाएका छन।
विमानस्थलमा एमाले नेताहरूको आगमन कार्यक्रम अघि केही युवाहरूले अवरोध गरेपछि परिस्थिति तनावपूर्ण बनेको थियो। तनावपूर्ण स्थितिलाई नियन्त्रणमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनालाई संवेदनशील बताउँदै सरकारलाई राजनीतिक दलहरूको कार्यक्रम आयोजना गर्ने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।
पार्टी प्रवक्ता मनिष झाकाअनुसार चुनावी वातावरण बनाउन दलहरूले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्ने र सरकारले पर्याप्त सुरक्षा दिनुपर्ने पार्टीको निष्कर्ष निकालेको जनाएको छ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सिमरा घट्नालाई आगामी राजनीतिक जटिलताको संकेतको रूपमा वर्णन गरेका छन्। उनले चुनाव भएपछि सहज सत्ता हस्तान्तरण हुने वातावरण नदेखिएको टिप्पणी गरेका छन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै सिमरा घटनालाई सामान्य अवरोधका रूपमा व्याख्या गरेका छन्।
उनले सानो संख्यामा प्रदर्शनकारी भएका घटनामा पनि कर्फ्यू लगाउनु उचित नभएको बताएका छन्। बस्नेतका अनुसार सभा–सम्मेलन गर्ने दलहरूको संवैधानिक अधिकार रोक्नु सरकारको त्रुटि हो।
यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको सिमरामा उत्पन्न भएको परिस्थितिलाई ‘दुःखद भन्दै सरकारले राजनीतिक दलहरूको स्वतन्त्र गतिविधिमा अवरोध हुने वातावरण नबनाउन आग्रह गरेका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन् ‘यो समय द्वन्द्व बढाउने होइन, संयम र एकता राखेर जाने समय हो। त्यसैले सिमरा घटना दुःखद छ। प्रधानमन्त्रीज्यू, एक फेरा भ्रमण गर्ने वातावरण नै नबनाए, चुनाव कसरी हुन्छ ? भनेर प्रतिप्रश्न गरेका छन ।
शर्माले सामाजिक सञ्जाल निषेधका विरुद्ध उभिने जेनजेड कसैको ‘समाज भ्रमण अधिकार’ विरुद्ध उभिन नसक्ने भन्दै सिमरा घटनामा युवाहरूको भावना होइन, त्यसको दुरुपयोग देखिएको टिप्पणी गरे।
घटना सम्बन्धी दलहरूको फरक–फरक अभिव्यक्तिसँगै चुनावी माहोल, सुरक्षा व्यवस्थापन र राजनीतिक गतिविधिमा सरकारी तयारीबारे बहस बढेको छ।
सामाजिक संजाललाई नेपालीमा दर्ता गर्ने प्रयोजनकालागि संचालनमा रोक लगाउदा आन्दोलनमा उत्रिएको जेनजी पुस्ता आफै अरुको स्वतन्त्रताका बिरुद्ध सडकमा उत्रिनुलाई भने अराजकतापूर्ण तथा अतिवादी कदमका रुपमा हेरिएको छ ।
तपाईको प्रतिक्रिया