भरवलीया, १८ चैत ।
आईतबार साँझ आएको भीषण हावाहुरीले बारा र पर्सामा गरी करोडौंका भौतिक क्षति भएको छ । आँधीहुरीले पर्सामा १ र बारामा २७ गरि २८ जनाको ज्यान लिएको छ । पाँच मिनेटसम्म आएको बेजोडको आँधीहुरीले बाराको फेटा गाउँपालिका भलुही, भरवलिया, पुरैनिया, कलैया उपमहानगरपालिकाको वडा नम्बर १८ मनगढवा, प्रसौनी गाउँपालिकाको खुटुवा जब्दी र परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ चैनपुरलाई केन्द्रीत गरि आएको आँधीहुरीले सयौंको घरमा क्षति पु¥याएको छ । पर्साको वीरगन्ज महानगरपालिकाको वडा नम्बर २२ मा पनि स्थानीयको घरटहरा उडाएको छ । तीब्रगतिमा आएको आँधीहुरीले बाराको भलुही, भरबलिया र पुरैनिया गाउँको साना झुपडी र खपडाको घरहरु मात्रै होईन पक्की घरहरु समेत भत्काउँदा घरले च्यापिएर र खम्बाहरुले थिचेर बारामा २७ जनाको मृत्यु भएको हो । एउटै इट्टाभट्टामा काम गर्ने ४० जना मजदुर मध्य दुईजनाको मृत्यु भएको छ । साह इट्टामा कार्यरत ४० जना मदुरमध्य अझै तीन÷चारजना मजदुर गम्भीर घाईते रहेको उद्योगका संचालक एवं वीरगन्ज उद्योग वाणिज्य संघका सदस्य हरि गौतमले जानकारी दिए । भलुही भलबरियाको वडा नम्बर २ मा घरको खम्बाले एउटाको खुट्टामा अर्कोको टाउकोमा थिचेर राखेको थियो । वीरगन्ज पथलैया सडक खण्डमा गुडीरहेको सवारी साधन हावाहुरीका कारण दुर्घटना हुँदा पर्साका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्जमहानगरपालिका वडा नम्बर १८ का १६ बर्षीय सरोज राम रहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार नारायणी अस्पतालमा बारा जिल्लाको पाँचजना, पर्साका एकजना र नेशनल मेडिकल कलेजमा तीनजनाको गरी नौजनाको शव रहेको छ । त्यस्तै नारायणी अस्पतालमा ७८ जना भर्ना भएकोमा ४ जना काठमाडौं शिक्षण अस्पतालमा, १ जना वीरगन्जको एल।एस न्यूरो अस्पतालमा रिफर गरिएको छ । नेशनल मेडिकल कलेजमा दुईसय जना तथा विभिन्न अस्पतालमा गरी तीनसय ३४ जनाको उपचार भईरहेको प्रजिअ भट्टराईले बताए । आँधीहुरीले फेटा गाउँपालिकाका करिब सातसय घरधुरीका जनसंख्या प्रभावित भएका छन् । भरवलियामा मात्रै तीनहजार जनसंख्या प्रभावित भएको अनुमान रहेको भरवलियामै घर भएका ठाकुरराम क्याम्पसका प्राध्यापक विरेन्द्र साहले बताए ।
प्रभावित क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारद्वारा स्थलगत निरीक्षण
उद्दार, राहत र उपचारमा कमजोरी नहोस् ः प्रधानमन्त्री
सबै मिलेर विपत्तिमा परेकाहरुलाई सहयोग गरौं ः मुख्यमन्त्री गद्दी
आँधीहुरीले प्रभावितक्षेत्रमा संघीय सरकार र प्रदेश सरकारले निरीक्षण गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रभावित गाउँपालिका फेटामा हवाई निरीक्षण गरी बाराको कलैयामा रहेको जिल्ला अस्पतालमा उपचाररत घाईतेहरुको स्वास्थ्य उपचारको बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले घाईतेहरुलाई भेटेर स्वास्थ्य उपचारमा कुनैपनि कमजोरी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिए । उनले घर विहिन भएकाहरुलाई तत्काल उद्दार गरि राहतको व्यावस्थामा सबैजना लाग्न आग्रह समेत गरे । प्रधानमन्त्री सहित टोलीमा उपप्रधान तथा स्वास्थ्यभन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, प्रहरी महानिरीक्षक सवेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतका उच्च सुरक्षा निकायका अधिकारीहरुको सहभागिता रहेको थियो । कलैयापछि प्रधानमन्त्री सहितको संघीय सरकारका मन्त्रीहरुले नारायणी अस्पतालमा उपचार गराईरहेका घाईतेहरुसँग पनि भेटेका थिए । त्यस्तै प्रदेश नम्बर २ का मुख्यमन्त्री सहितको टोलीले पनि नारायणी अस्पतालमा उपचार गराईरहेका घाईतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । घाईतेहरुलाई भेटेर मुख्यमन्त्री राउतदे प्राकृतिक विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताए । उनले महाविपत्तिले गर्दा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै घाईतेहरुको उपचार र राहतको उचित व्यवस्थापन गर्न सबैलाई आग्रह गरे । मुख्यमन्त्रीको टोलीमा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, अर्थ मन्त्री विजय यादव, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल लगायत प्रदेशका सबै मन्त्री र राज्यमन्त्रीहरु पनि आएका थिए ।
२ वटा सेलर मिल र ५९ घर पूर्णक्षति, विद्युत सेवा अवरुद्ध
हावाहुरीले पर्सामा भन्दा बारामा बढी क्षति पु¥याएको छ । भौतिक क्षतिको पूर्ण विवरण आई नसकेको र विवरण संकलन कार्य जारी रहेको छ । प्रारम्भिक चरणमा गरिएको विवरण संकलन अनुसार घरको पर्खाल, छाना आंशिक क्षति गरि दुईसय ४९ वटा घरटहरा, पूर्णक्षति भएको घर ५९ वटा रहेको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । हावाहुरीले सवस्टेशनको टावर, पोल र तारमा क्षति पु¥याउदा अवरुद्ध भएको विद्युत सेवा साँझ ६ बजेदेखी सुचारु भएको छ ।
राहत र उद्दार जारी मन्त्रीदेखि कलाकारले बाडे राहत
आँधीहुरी प्रभावित क्षेत्रमा राहत र उद्दार कार्य जारी रहेको छ । उद्दार र राहत वितरणका लागि प्रदेशका मन्त्रीदेखि उपराष्ट्रपति पुत्रसम्म राहत वितरण गर्न प्रभावित क्षेत्रमा पुगेका छन् । राति देखिनै उद्दार गरिएपनि विद्यतु सेवा बन्द भएपछि उद्दारमा समेत समस्या भएको थियो । उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन राहत सामग्री लिएर सबैभन्दा पहिले प्रभावित क्षेत्रमा पुगेका छन् । आईतबार राति नै घटनाको जानकारी पाएपछि काठमाडौंबाट गाडी चढेर आएका उपराष्ट्रपति पुत्र पुनले वीरगन्जको नारायणी अस्पतालमा उपचाररत घाईतेहरुको लागि रक्तदान गरेर प्रभावित क्षेत्रमा पुगेका थिए । उनले त्यहा रहेका पीडितहरुलाई राहत वितरण गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका पुनले पीडितहरुलाई चाऊचाऊ, विस्कुट, दालमोठ, पानी लगायतको राहत वितरण गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जुवैर आलमले जानकारी दिए । प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले पनि घाईतेहरुलाई रगतको अभाव नहोस भनेर आफैले रक्तदान गरेका छन् । प्रभावितक्षेत्रहरुमा आफै गएर सोनलले राहत वितरण गरेका छन् ।यसैगरि धुर्मस सुन्तली फाउण्ेशन , एनसेल सेभेन क्लस्टरका तर्फबाट संजय अग्रवालको टोलीले भरवलीयामा खाद्यन सामाग्री र त्रिपाल उपलब्ध गराएको छ ।त्यसैगरि कलैया किराना संघ ,अनेरास्ववियु लगायतका सघ संस्था र स्थानीय जनसमुहले राहत समाग्री उपलब्ध गराएका छन ।
तपाईको प्रतिक्रिया