वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो।
कार्यालयले असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। निर्धारित लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोज महिनामा इन्धन आयातबाट मात्रै २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
त्यस्तै, खाना पकाउने एलपीजी ग्यासको आयातबाट १ अर्ब ८० करोड रुपैयाँ, अलकत्रा ९बिटुमिन० आयातबाट १ अर्ब ४० करोड रुपैयाँ तथा फलफूलतर्फ स्याउ र नास्पातिको आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ।
यस अवधिमा लक्ष्यभन्दा १ अर्ब ४३ करोड रुपैयाँ कम राजस्व संकलन भएको हो।
चाडबाडका कारण आयात तथा व्यापारिक गतिविधिमा आएको वृद्धिले असोज महिनामा राजस्व संकलन लक्ष्यभन्दा बढी भएको भन्सार कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया