ठोरी । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ठोरी गाउँपालिकाले स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित टिकटक प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
देशभरका नेपाली टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले आह्वान गरेको छ।
प्रतियोगिताअन्तर्गत सहभागीहरूले ठोरी गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रचार हुने गरी टिकटक भिडियो तयार गर्नुपर्नेछ। भिडियोमा ठोरीका पर्यटकीय गन्तव्य स्पष्ट रूपमा देखिनु अनिवार्य रहनेछ।
गाउँपालिकाका अनुसार अश्लील, मानहानीपूर्ण, अपमानजनक तथा जातीय, धार्मिक वा राजनीतिक द्वन्द्व फैलाउने सामग्री समावेश भएका भिडियोहरू स्वतः अयोग्य ठहरिनेछन्।

विजेता छनोट गर्दा भिडियोको गुणस्तर, Views, Likes, Comments र विषयवस्तुको प्रस्तुति—प्रत्येकलाई २५ प्रतिशतका दरले मूल्यांकन गरिनेछ। साथै नेपालीपन र ठोरीको पहिचान झल्किने भिडियोहरूलाई विशेष प्राथमिकता दिइनेछ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. २० हजार, द्वितीयलाई रु. १५ हजार र तृतीयलाई रु. १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता २०८२ पुस २५ गतेदेखि २०८२ माघ २५ गतेसम्म सञ्चालन हुनेछ। सो अवधिभित्र अपलोड गरिएका भिडियोहरू मात्र मान्य हुनेछन्। सहभागीले भिडियो अपलोड गरेपछि ठोरी गाउँपालिकाको आधिकारिक TikTok ID ‘Thori Gaupalika’ लाई Like, Follow तथा Mention गर्नुपर्नेछ।
टिकटक भिडियो नेपाली वा भोजपुरी भाषामा बनाउन सकिनेछ। भिडियोको अवधि कम्तिमा ३० सेकेन्ड र बढीमा १ मिनेट हुनुपर्नेछ। प्रतियोगिता सम्पन्न भएको एक हप्ताभित्र नतिजा सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ।
तपाईको प्रतिक्रिया