वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंमा डेरा गरी बस्दै आएका २७ वर्षीय प्रविण साह रहेका छन्।
उनले आफूलाई सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई) बताउँदै भन्सार कार्यालयका एजेन्टहरूसँग राम्रो चिनजान रहेको दाबी गरेर सर्वसाधारणलाई विश्वासमा पार्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार साहले भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तोमा मिलाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिलाई आफ्ना बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए। रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने गरेको आरोप उनीमाथि छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गत असोज २२ गते वीरगन्ज महानगरपालिका–८ स्थित घण्टाघर क्षेत्रबाट साहलाई पक्राउ गरेको हो।
पक्राउ परेका साहमाथि अदालतबाट म्याद थप गरी कानुनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले ठगीमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि निगरानी बढाउनुका साथै प्रमाण सङ्कलन भइरहेको जानकारी दिएका छन्।
प्रहरीले भन्सारको लिलामीमा सस्तोमा सामान मिलाइदिने भन्दै रकम माग्ने अपरिचित व्यक्ति तथा बिचौलियाको प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यस्ता व्यक्तिलाई रकम नदिन र शंकास्पद गतिविधिबारे जानकारी पाएमा तत्काल नजिकैको प्रहरी कार्यालयमा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया