सिरहा । सिरहामा प्रहरीले भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको प्रतिबन्धित विस्फोटक पदार्थ नागिन पटाका बरामद गरेको छ। प्रहरीले ३५ बण्डल नागिन पटाका बरामद गरे पनि त्यसमा संलग्न व्यक्तिहरू भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २६ गते बिहान करिब ५ः१० बजे सिरहाको सुखिपुर नगरपालिका–२ छजना क्षेत्रमा उक्त पटाका बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले भारतबाट बोरामा सामान ल्याउँदै गरेको मोटरसाइकललाई देखेपछि निगरानी गरेको थियो। प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार व्यक्तिहरू बोरा र मोटरसाइकल छाडेर फरार भएका थिए।
प्रहरीले बोराको खानतलासी गर्दा प्रतिबन्धित विस्फोटक पदार्थ ३५ बण्डल नागिन पटाका फेला पारेको जनाएको छ। बरामद पटाकाको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
बरामद पटाका आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको छ। फरार व्यक्तिहरूको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
चाडपर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा प्रतिबन्धित विस्फोटक पदार्थको अवैध ओसारपसार रोक्न प्रहरीले निगरानी बढाएको छ।
तपाईको प्रतिक्रिया