वीरगंज । वीरगंजको मितेरी पुलमा सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार सोमवार वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुलमा खटिएको सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले छुट्टाछुट्टै जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पहिलो घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ नर्कुटवा निवासी १८ वर्षीय शेख सहजातलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंकाका आधारमा जाँच गरिएको थियो।
सशस्त्र प्रहरीको डग स्क्वाड र सीमा अन्तरक्रिया टोली (बीआईटी) को संयुक्त टोलीले जाँच गर्दा उनले कुरकुरेभित्र कालो प्लास्टिकमा लुकाएको ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको थियो।
त्यस्तै, बीआईटी टोलीले बाराको बारागढी गाउँपालिका–३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँलाई नेपालबाट भारततर्फ पैदल जाँदै गर्दा जाँच गरेको थियो।
उनको झोलामा लुकाएर लैजाँदै गरेको ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया