लालबन्दी । सर्लाही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानमा परिचालित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी बजारका ४४ वर्षीय प्रदीप महतो, रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही टोलका २८ वर्षीय सुरज थापा र सर्लाहीको हरिवन नगरपालिका–४ डाबरीका २६ वर्षीय कुलबहादुर वर्मालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्युरो बर्दिवास, महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले हरिवन नगरपालिका–९ स्थित पूर्व जाने बस काउन्टर पछाडिबाट तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ‘अन टेस्ट’ एफजेड मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले प्लास्टिकको बोरा तथा झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध फेला परेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट स्पास ग्लेनपारा २ हजार १४ पिस, एन्टिकफ ३ हजार ५ सय ६ पिस, मेफ्टाल स्पास १ हजार ५ सय पिस र टापेन्टाडोल ३ हजार ५ सय १४ पिस गरी कुल १० हजार ५ सय ३४ पिस ट्याब्लेट बरामद भएको छ।
यसैगरी, सोही दिन बागमती नगरपालिका–४ स्थित सानो डाबरी क्षेत्रमा सञ्चालन गरिएको ‘कर्डन एन्ड सर्च’ अभियानका क्रममा प्रहरीले कोडिन फस्फेट ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड (ओनेरेक्स) सिरपका चार बोतल सिलप्याक र ३२ थान ओनेरेक्स बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।
तपाईको प्रतिक्रिया