जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।
महासङ्घ धनुषा शाखाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा आयोजना गरेको हो। यी दुवै कार्यक्रमलाई पत्रकारहरूको वर्तमान अवस्था र शहिद पत्रकारको बलिदानसँग जोडेर हेरिएको छ।
बिहान महासङ्घ धनुषा शाखाको कार्यालय परिसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा धनुषा जिल्लाका ५० जना क्रियाशील पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको हाइटेक प्याथोलोजी ल्याबको प्राविधिक सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा रक्तचाप, मधुमेह, लिपिड प्रोफाइल तथा युरिन परीक्षण गरिएको महासङ्घले जनाएको छ।
महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन साहले पत्रकारहरूको असुरक्षित कार्यपरिवेश, अनियमित कार्यतालिका र जाडो मौसमका कारण स्वास्थ्य जोखिम बढिरहेको उल्लेख गर्दै, राज्यस्तरबाट पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए। उनले महासङ्घको पहलमा यस्ता कार्यक्रम निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, साँझ महासङ्घ भवन अगाडि आयोजित श्रद्धाञ्जली सभामा शहिद पत्रकार उमा सिंहको बलिदान र प्रेस स्वतन्त्रतामाथि भएका आक्रमणहरूबारे गम्भीर समीक्षा गरिएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने,केन्द्रीय सदस्य राजेश कर्ण , मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,महासचिव शैलेन्द्र क्रान्ति सचिव हदिश खुद्दार बरिष्ठ पत्रकार बि.एम .खनाल रामभरत साह , रिन्कु मिश्र ,अशोक रौनीयार मनिका झा अवधेश कामत लगायतको सहभभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले उमा सिंहको हत्या अझै पनि न्यायिक निष्कर्षमा नपुगेको विषय रहेको स्मरण गराउँदै, पत्रकारको सुरक्षाका सवालमा राज्य गम्भीर नदेखिएको आरोप लगाए। उनले उमा सिंहलाई निडर पत्रकारिता, सत्यको खोज र सामाजिक न्यायका प्रतीकका रूपमा स्मरण गरे।
तपाईको प्रतिक्रिया