जीतपुर । बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। यश ग्रुपका प्रबन्ध निर्देशक यश अग्रवाल टेमानीले चलाएको भनिएको कारको ठक्करबाट वीरगञ्ज महानगरपालिका–३२ निवासी करिब ४५ वर्षीय रामबालक सहनीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बा ०१–०३३ च २४८१ नम्बरको कारले जीतपुर केरा ढोका नजिक सहनीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
दुर्घटनापछि कार चालकबारे अनुसन्धानका लागि यश अग्रवाल टेमानीलाई हाल इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरी स्रोतले जनाएको छ। घटनाको अनुसन्धान प्रक्रिया जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।
यसैबीच, यश अग्रवालका पिता तथा उद्योगी एवं उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले प्रहरीले आफ्नो छोरालाई अनाहकमा नियन्त्रणमा लिएको आरोप लगाएका छन । उनका अनुसार दुर्घटनाको समयमा घटनास्थलमा भीड जम्मा भएको र पिटाइको डरले गाडी चालक कृष्ण यादव फरार भएका थिए। त्यसै कारण आफ्नो छोरालाई नियन्त्रणमा लिइएको हुनसक्ने उनको दाबी छ।
अशोक टेमानीले भीडको दबाबमा नपरी घटनाको सत्य–तथ्य छानबिन गरी निष्पक्ष रूपमा अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गर्नुभएको छ।
प्रहरीले भने दुर्घटनासम्बन्धी सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि मात्रै चालक र जिम्मेवारीबारे स्पष्ट हुने जनाएको छ।
तपाईको प्रतिक्रिया