रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।
अनिवार्य अवकाश प्राप्त गरेपछि विद्यालय परिसरमा बुधबार आयोजित विशेष समारोहमा गौतमलाई सम्मान गर्दै बिदाइ गरिएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सहभागिता रहेको थियो।
गौतमले २०५८ देखि २०६८ सालसम्म शिक्षकका रूपमा विद्यालयमा सेवा गरे। त्यसपछि २०६९ सालदेखि २०८३ भदौ २१ गतेसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय नेतृत्व गरेका थिए।

पटेर्वा सुगौली गाउँपालिकाकी कार्यपालिका सदस्य सजिना रसाइलीले एउटै विद्यालयमा लामो समयसम्म रहेर शिक्षा क्षेत्रमा सेवा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताइन ।
उनले विद्यालयको शैक्षिक वातावरण निर्माण, विद्यार्थीको सिकाइ तथा संस्थागत विकासमा गौतमले पुर्याएको योगदान स्मरणीय रहेको उल्लेख गरिन ।
अवकाशप्राप्त प्रधानाध्यापक भोजराज गौतमले लामो समय सेवा गरेको विद्यालयबाट सम्मानका साथ बिदाइ हुन पाउनु आफ्ना लागि भावनात्मक र गौरवपूर्ण क्षण भएको बताए ।
उनले सेवाकालमा साथ, सहयोग र सद्भाव प्रदान गर्ने शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय परिवार तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरे।
गौतमले विद्यालयको नेतृत्व अब नयाँ पुस्तामा हस्तान्तरण भएको उल्लेख गर्दै नवनियुक्त प्रधानाध्यापक तथा शिक्षकलाई शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित भएर काम गर्न शुभकामना दिए ।

गौतम अनिवार्य अवकाशमा गएसँगै विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी प्रमोद प्रसाद दासले सम्हालेका छन । विद्यालयमै कार्यरत दासलाई नयाँ प्रधानाध्यापकका रूपमा जिम्मेवारी दिइएको हो।
कार्यक्रममा दासले नयाँ जिम्मेवारी अवसरसँगै चुनौतीपूर्ण पनि रहेको बताउँदै शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र स्थानीय समुदायसँग सहकार्य गरेर विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक तथा शिक्षाप्रेमी महेन्द्र चौधरीले गौतमको २५ वर्षे शैक्षिक सेवाको प्रशंसा गर्दै उहाँको अनुभव र योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको बताए ।
कार्यक्रममा शिक्षक इन्द्र प्रसाद गौतमले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने सञ्चालन शिक्षक नवराज चापागाईं र सुरज कडेलले गरेका थिए ।
तपाईको प्रतिक्रिया