वीरगञ्ज। चेक अनादर (बिगो भरिभराउ) मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय पाएर फरार रहेकी एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी ४६ वर्षीया सबरून नेशा रहेकी छन्। पर्सा जिल्ला अदालतले उनलाई चेक अनादर (बिगो भरिभराउ) सम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय सुनाएको थियो। सजाय ठहर भएदेखि नै उनी फरार रहँदै आएकी थिइन्।
प्रहरीले प्राप्त गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार बिहान करिब ९:३० बजे मुर्ली चोकबाट उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकी नेशामाथि अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
अदालतबाट सजाय तोकिएर पनि फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिँदै आएको जनाएको छ।
तपाईको प्रतिक्रिया