वीरगञ्ज । तीन दशकदेखि अवैध कारोबारसँग जोडिएको आरोप लाग्दै आएका मदन गुप्ता उर्फ ‘रुन्चे’ र उनका सहयोगीहरूविरुद्ध गम्भीर आपराधिक मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले माघ २६ गते सशस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीमाथि आक्रमण भएको घटनालाई लिएर मदन गुप्तासहित सात जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ सम्बन्धी कसूरमा मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाएको जनाएको छ। रुन्चे भने फरार भएका छन ।
प्रहरीका अनुसार माघ २६ गते बिहान करिब १०.३० बजे वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा भन्सार छलीका सामान लुकाइराखिएको गोप्य सूचना प्राप्त भएको थियो।
त्यसपछि सशस्त्र प्रहरी बल नं. १३ गण र वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको टोली अनुसन्धानका लागि पुगेको थियो।
तर, सामान नियन्त्रणमा लिन खोज्दा स्थानीय समूहले सुरक्षाकर्मीलाई घेरा हालेर ढुङ्गामुढा र लाठी प्रहार गरेको, सरकारी सवारी साधनमा तोडफोड गरेको तथा टोलीलाई प्रत्यक्ष अवरोध सिर्जना गरेको आरोप छ। घटनामा केही सुरक्षाकर्मी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
सुरक्षा निकायका स्रोतका अनुसार मदन गुप्ता लामो समयदेखि तस्करी कारोबारसँग जोडिँदै आएका व्यक्ति हुन्। ‘नवदुर्गा ट्रान्सपोर्ट’ नामक ढुवानी व्यवसायमार्फत भन्सार छलीका सामान ओसारपसार हुने गरेको आशंका रहँदै आएको थियो।
यसअघि पनि उक्त कम्पनीसँग सम्बन्धित गोदामहरूमा छापा परेर ठूलो परिमाणमा कपडा, हार्डवेयर तथा इलेक्ट्रोनिक्स सामान बरामद भएको विवरण सार्वजनिक भइसकेको छ।
यद्यपि, विगतमा पक्राउ परेकाहरू कानुनी प्रक्रियाबाट छुट्दै आएका कारण सञ्जाल कमजोर हुन नसकेको आरोप लाग्दै आएको थियो। यसपटक भने सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि प्रशासनले कडा रणनीति अपनाएको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा प्रमोद कुमार कानु, दिपराज सहनी मलाह, कुन्जन सर्राफ, श्रीचन्द्र प्रसाद साह तथा दुई भारतीय नागरिक प्रभु महतो र पृतम कुमार चौधरी रहेका छन्।
पक्राउ परेकामध्ये केही व्यक्ति स्थानीय राजनीतिक गतिविधिमा समेत सक्रिय रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी स्रोतको भनाइ छ। यसले अवैध कारोबार र राजनीतिक प्रभावबीचको सम्बन्धबारे थप प्रश्न उठाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। मुख्य योजनाकार भनिएका मदन गुप्ता भने फरार रहेकाले खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।
वीरगञ्ज नाका लामो समयदेखि तस्करीका लागि संवेदनशील क्षेत्र मानिँदै आएको छ। खुला सीमाना, उच्च व्यापारिक गतिविधि र राजनीतिक संरक्षणको आशंकाले गर्दा अवैध कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै आएको सुरक्षा निकायको आकलन छ।
तपाईको प्रतिक्रिया