वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पर्साले ७१औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको “जिम्मेवार पत्रकारिता र पत्रकार आचारसंहिता” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले सबै सञ्चारकर्मीलाई जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे।
लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारका क्षेत्रमा विशिष्ट पहिचान बनाएको नेपाल पत्रकार महासंघ देशकै अग्रणी सामाजिक संस्था भएकाले यसको साख जोगाउन र जनविश्वास कायम राख्न जिम्मेवार पत्रकारिता अनिवार्य रहेकोमा वक्ताहरुले जोड दिएका थिए।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव अशोक तिवारी केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, पूर्व सचिव तथा विश्व पत्रकार महासंघ एशिया–प्रशान्तका सचिव दीपेन्द्र चौहान, पर्साका पूर्व अध्यक्ष शंकर खतिवडा, सत्रुघ्न नेपाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुल्सी भण्डारी लगायतका वक्ताहरूले जनमैत्री पत्रकारिता गर्न आग्रह गरेका थिए।
वक्ताहरूले महासंघले आचारसंहितालाई व्यवहारमा उतार्न नसके पर्सा जिल्लामै कार्यरत पत्रकारप्रति नागरिकको विश्वास घट्ने चेतावनी दिएका थिए।
अन्तरक्रिया कार्यक्रम महासंघ पर्साका सचिव विजय चौहानले सञ्चालन गरेका थिए।
तपाईको प्रतिक्रिया