वीरगंज। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्साका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
राप्रपाको क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो। सिफारिस सूचीमा वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र मुख्य आकर्षणका रूपमा देखिएका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट कलाकार नन्दु श्रीवास्तवसहित निवर्तमान सांसद विना जैसवाल, शान्ति खड्का, किरणमान डंगोल र विपिन चौरसियाको नाम सिफारिस गरिएको छ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट पनि कलाकार श्रीवास्तवको नाम सिफारिस भएको छ। उक्त क्षेत्रबाट उनीसँगै विना जैसवाल र अवधकिशोर प्रसादको नाम केन्द्रमा पठाइएको पार्टीले जनाएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रसहित सात जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुने अन्य नेताहरूमा अंगद ठाकुर, नगिना यादव, नरेन्द्रप्रसाद चौरसिया, सुजित त्रिपाठी, चन्द्रिका सहनी र दिपेश साह रहेका छन्।
यस्तै, समानुपातिकतर्फ मधेसी महिला कोटामा पर्सा क्षेत्र नम्बर ३ बाट प्रियन्का यादवको नाम एकल रूपमा सिफारिस गरिएको छ। शिक्षा शास्त्रमा एम.एड. उत्तीर्ण यादव राप्रपाकी सक्रिय सदस्यसमेत हुन्।
पार्टी स्रोतका अनुसार उनको शैक्षिक योग्यता तथा राजनीतिक–सामाजिक सक्रियतालाई आधार मानेर एकल सिफारिस गरिएको हो।
उनका श्रीमान् नगिना यादव विद्यार्थी जीवनदेखि नै राप्रपाको राजनीतिमा सक्रिय रहँदै आएका छन्। राजनीतिक यात्राका क्रममा विभिन्न कठिनाइ, जालझेल तथा पटक–पटक प्रहरी हिरासतको सामना गर्नुपरे पनि उनी हिन्दुत्व र राजसंस्थाको एजेन्डामा अडिग रहँदै निरन्तर पार्टीमै सक्रिय रहँदै आएको पार्टी स्रोतले जनाएको छ।उनको नाम पार्टीले पर्साको क्षेत्र नं ३ को प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिश गरेको छ ।
प्रियन्का यादवले पार्टीका राष्ट्रिय अध्यक्षले अघि सारेको ‘नयाँलाई अवसर दिनुपर्छ’ भन्ने अवधारणालाई आत्मसात गर्दै आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको बताएकी छन्।
उनले महिलाको प्रतिनिधित्व र नयाँ नेतृत्व विकासलाई प्राथमिकता दिएकोप्रति पार्टीप्रति सकारात्मक धारणा व्यक्त गरेकी छन्।
उता, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट भने शान्तकुमार जोशीको नाम एकल रूपमा सिफारिस गरिएको राप्रपाले जनाएको छ।
राजनीतिकर्मीका साथै कलाकार र बौद्धिक व्यक्तित्वहरूलाई चुनावी मैदानमा उतार्ने राप्रपाको तयारीसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ। अब केन्द्रले सिफारिस भएका नामहरूमध्येबाट अन्तिम उम्मेदवारको टुंगो लगाउनेछ।
तपाईको प्रतिक्रिया