वीरगन्ज । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका औषधि, लत्ताकपडा र पशुचौपायासहित १० लाख ५१ हजार ४२४ रुपैयाँ बराबरका सामान पर्सा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा उक्त मूल्य बराबरका सामान नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार सोमवार बिहान करिब साढे नौ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर २५ श्रीसिया खल्वास्थित क्षेत्रबाट भारतबाट भन्सार छली गरी चोरी पैठारीमार्फत भित्र्याइएका विभिन्न किसिमका औषधि बरामद गरिएको थियो। बरामद औषधिको मूल्य २ लाख ३१ हजार ६०४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार उक्त स्थानबाट ५ लाख ५९ हजार ८२० रुपैयाँ बराबरका लत्ताकपडा, २ लाख ५० हजार रुपैयाँ बराबरका भैँसी तथा १० हजार रुपैयाँ मूल्य पर्ने एउटा खसी नियन्त्रणमा लिइएको हो।
दुवै स्थानबाट बरामद गरिएका सामानको कुल मूल्य १० लाख ५१ हजार ४२४ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नियन्त्रणमा लिइएका सम्पूर्ण सामान आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।
भारतसँग खुला सीमा जोडिएको पर्सामा भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया