धनुषा । धनुषाको विदेह नगरपालिका–६ तीनकौरियाबाट हराएका १५ महिनाका बालक सिद्धान्त महतोको प्रहरीले सकुशल उद्धार गरेको छ। बालकलाई अपहरण गरी लुकाइछिपाइ राखेको आरोपमा कमला नगरपालिका–८, हनुमानचोक बस्ने ४९ वर्षीया पुनिता देवी पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक र प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली परिचालन गरी अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत भदौ १८ गते दिउँसो पौने पाँचको बजेको करिबमा घरको आँगनमा खेलिरहेको बालक हराएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजतलास सुरु गरेको थियो।
स्वास्थ्य परीक्षणपछि बालकलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया