निजगढ । आँखाको उपचार पहुँचबाट टाढा रहेका हजारौँ नागरिकका लागि बाराको निजगढमा आयोजित निःशुल्क आँखा शिविर जीवन बदल्ने अवसर बनेको छ।
निजगढ नगरपालिकास्थित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालमा सञ्चालन गरिएको तीनदिने निःशुल्क आँखा शिविरमा ७,हजार जनाको आँखा परीक्षण र १,२९१ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त शिविरमार्फत बारा, पर्सा, रौतहट र सर्लाहीका दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

लामो समयदेखि आँखाको समस्या भएर पनि उपचार गर्न नसकेका वृद्ध, मजदुर र आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई लक्षित गर्दै गाउँ–गाउँमै आँखा परीक्षण गरी मोतिविन्दुका बिरामी पहिचान गरिएको थियो।
गाउँबाट अस्पतालसम्मको व्यवस्थित पहुँच
शिविरको विशेषता भनेकै समुदायस्तरमै बिरामी पहिचान गरी उनीहरूलाई अस्पतालसम्म ल्याउने व्यवस्थित प्रणाली हो। प्रारम्भिक जाँचपछि मोतिविन्दु पुष्टि भएका बिरामीलाई निजगढ तिलगंगा आँखा अस्पताल ल्याई निःशुल्क शल्यक्रिया गरिएको थियो।
शल्यक्रियापछि आवश्यक औषधि र फलोअप सेवा पनि निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ।
अन्तर्राष्ट्रिय सहयोग, स्थानीय प्रभाव
कार्यक्रम अपरेशन रिजोइस सिङ्गापुरको सहयोगमा, तिलगंगा आँखा प्रतिष्ठान र निजगढ तिलगंगा आँखा अस्पतालको आयोजनामा सम्पन्न भएको हो। शिविर तिलगंगा आँखा प्रतिष्ठानकी कार्यकारी अधिकृत डा. रीता गुरुङको नेतृत्वमा सञ्चालन गरिएको थियो।
डा. गुरुङका अनुसार, “ग्रामीण क्षेत्रमा मोतिविन्दु अझै पनि अन्धोपनको प्रमुख कारण बनेको छ। समयमै उपचार भए दृष्टि पूर्ण रूपमा फर्कन सक्छ। यस किसिमका शिविरले हजारौँ परिवारको जीवनस्तर सुधार गर्छ।”
निजगढ तिलगंगाको निरन्तर सेवा
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले शिविर मात्र नभई नियमित आँखा परीक्षण, शल्यक्रिया, चश्मा तथा औषधि वितरण र सामुदायिक जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ। यसले मधेस र आसपासका जिल्लामा आँखा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार गरेको छ।

तीन दिनको यो शिविर केवल स्वास्थ्य कार्यक्रम मात्र नभई हजारौँ नागरिकको जीवनमा उज्यालो फर्काउने मानवीय पहल बनेको छ। सरकारी र गैरसरकारी साझेदारी, अन्तर्राष्ट्रिय सहयोग र स्थानीय अस्पतालको सक्रियताले ग्रामीण स्वास्थ्य सेवामा कस्तो ठोस प्रभाव पार्न सक्छ भन्ने यसको उदाहरण बनेको छ।
तपाईको प्रतिक्रिया