जनकपुरधाम । सरकारले तोकेको मापदण्ड विपरीत दर्ता नगरी अवैध रूपमा सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधामसहित धनुषाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के क्रममा मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि सम्बन्धित अस्पताल र औषधि पसललाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।
कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरधामको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारमा रहेको राघव सर्जिकल पसल र वीरेन्द्र बजारस्थित कम्युनिटी सर्भिस अस्पताललाई सिल गरिएको हो।
उनका अनुसार निजी अस्पतालसहित कुल दुई दर्जनभन्दा बढी औषधि पसलको अनुगमन गरिएको थियो। अनुगमनलाई थप प्रभावकारी बनाउँदै अवैध तथा मापदण्ड विपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कारबाही निरन्तर जारी रहने कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया