logo

इन्सपेक्टर अधिकारीको अराजक शैली, रातमा घरमा छापा, प्रक्रियामाथि उठ्यो गम्भिर प्रश्न

पटेर्वा प्रहरीले ताल्चा फुटाएर घर प्रवेश गरेको परिवारको दाबी, १७ किलो गाँजा बरामदको दाबीमाथि स्थानीयको प्रश्न

 इसीमाना सम्वाददाता     २०८३ भदौ २५ गते ०८: ५२ मा प्रकाशित     459   पटक पढिएको

                                                    तस्विर एआई निर्मित हो

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वाको टोलीले राति करिब २ः२५ बजे पटेर्वाकै एक घरमा छापा मारी सुरज यादव र उनका छोरालाई पक्राउ गरेको छ। 

 

पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लका अनुसार यादवको घरबाट १७ किलो गाँजा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

 

 यद्धपी छोरा सुभाष यादवलाई प्रहरी बिहान हिरासत मुक्त गरेको छ । प्रहरीले भथौडाबाट दुखी महतोलाई पक्राउ गरेको छ । गाँजा महतोको साथबाट फेला परेको स्थानीयको दावी छ ।

 

तर प्रहरीले गरेको भनिएको खानतलासीको समय, घरमा प्रवेश गर्ने तरिका, बरामदी प्रक्रिया र घरभित्र गरिएको व्यवहारलाई लिएर परिवार तथा स्थानीयले गम्भीर प्रश्न उठाएका छन्।

 

परिवारका अनुसार इन्सपेक्टर समुन्नत अधिकारीको नेतृत्वमा पुगेको प्रहरी टोलीले राति घरको मुख्य प्रवेशद्वारमा लगाइएको ताल्चा फुटाएर भित्र प्रवेश गरेको थियो।

 

प्रहरीले घरभित्रका सामानहरू यत्रतत्र पारेको र दराजसमेत खोलेर सामान छरपस्ट पारेको परिवारको आरोप छ।

 

परिवारका सदस्यका अनुसार प्रहरीले घरमा रहेकी वृद्ध महिलाबाट चाबीको झुप्पो खोसेर दराजहरू खोलेको थियो। दराजमा रहेका गरगहना तथा नगद रकमसमेत प्रहरीले लगेको परिवारको आरोप छ।

 

तर प्रहरीले भने यस्तो आरोप स्वीकार गरेको छैन। पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले परिवारले लगाएको आरोप प्रहरीमाथिको आरोप मात्र भएको बताएका छन्।

 

परिवारका सदस्य राजु यादवले प्रहरीको कारबाहीलाई “रातको समयमा डाँका शैलीमा गरिएको छापामारी” भन्दै आपत्ति जनाएका छन्।

 

उनका अनुसार प्रहरी टोलीले घरमा रहेका ज्येष्ठ नागरिकसँग समेत अशिष्ट व्यवहार गरेको थियो।

 

स्थानीयका अनुसार रातिको उक्त कारबाहीमा इन्सपेक्टर अधिकारीले आफ्नी श्रीमतीलाई समेत साथमा लिएर गएको दाबी गरिएको छ।

 

 परिवारका सदस्यले अधिकारीकी श्रीमतीले समेत घरमा रहेकी वृद्ध महिलासँग दुर्व्यवहार गर्दै चाबीको झुप्पो खोसेको आरोप लगाएका छन्।

 


राति २ः२५ बजे नै खानतलासी गर्नुपर्ने अवस्था थियो ?

 

प्रहरीले अनुसन्धानका क्रममा घर तथा व्यक्तिको खानतलासी लिन पाउने कानुनी अधिकार राख्छ। तर उक्त अधिकार मनपरी प्रयोग गर्न पाउने अधिकार भने होइन।

 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८ ले कसूरसँग सम्बन्धित दसी प्रमाण वा प्रमाण फेला पर्न सक्ने सम्बन्धमा मनासिब कारण भएमा कानूनबमोजिम खानतलासी लिन सकिने व्यवस्था गरेको छ।

 

त्यसैगरी उक्त दफाले खानतलासी गर्दा अपनाउनुपर्ने प्रक्रिया पनि तोकेको छ। सामान्य अवस्थामा घरको खानतलासी सूर्योदयदेखि सूर्यास्तअघिसम्म गर्नुपर्ने व्यवस्था छ।

 

 तर प्रमाण नष्ट हुन सक्ने, हराउन सक्ने वा शंकास्पद व्यक्ति भाग्न सक्ने जस्तो तत्कालको अवस्था भए रातिको समयमा समेत खानतलासी गर्न सकिने अपवादको व्यवस्था कानूनले गरेको छ।

May be an image of suitcase and text

                                                     छापामारी पछिको अवस्था 

त्यसैले यस घटनामा प्रश्न राति खानतलासी गर्नै नपाइने भन्ने मात्र होइन। राति २ः२५ बजे नै घरमा प्रवेश गरी खानतलासी गर्नुपर्ने त्यस्तो तत्कालीन अवस्था के थियो रु भन्ने प्रश्न मुख्य रूपमा उठेको छ।

 

यदि प्रहरीले रातिको अपवाद प्रयोग गरेको हो भने त्यसको आधार अनुसन्धानसम्बन्धी कागजातमा देखिनुपर्ने हुन्छ।

 

खानतलासीको मुचुल्का र रोहवर खोइ ?

 

कानूनले खानतलासीसँगै त्यसको प्रक्रिया र अभिलेखलाई पनि महत्व दिएको छ।

 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८ अन्तर्गत खानतलासी गर्दा सम्बन्धित व्यक्तिलाई कानूनबमोजिम सूचना दिने, खानतलासीको मुचुल्का तयार गर्ने तथा बरामद भएका वस्तुको विवरण खुलाउने व्यवस्था छ।

 

त्यस्तै दफा १९ ले खानतलासी तथा बरामदीको क्रममा स्थानीय व्यक्ति र सम्बन्धित पक्षलाई रोहवरमा राख्ने विषयमा व्यवस्था गरेको छ।

 

यस्तो अवस्थामा प्रहरीले कसको रोहवरमा खानतलासी गर्‍यो ? मुचुल्का कसरी तयार भयो ? १७ किलो गाँजा घरको कुन स्थानबाट बरामद भयो ? बरामदीका क्रममा को–को उपस्थित थिए ? भन्ने प्रश्न उठेको छ।

 

स्थानीयको भनाइमा यी विषयमा स्पष्टता नआएसम्म प्रहरीको कारबाहीमाथि शंका कायमै रहनेछ।

 

प्रहरीले आफ्नो पनि खानतलासी दिनुपर्छ

 

खानतलासी र बरामदी प्रक्रियालाई विश्वसनीय बनाउन कानूनले अनुसन्धान अधिकारीमाथि पनि केही दायित्व राखेको छ।

 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८ अन्तर्गतको व्यवस्थाले खानतलासीका क्रममा प्रवेश गर्नुअघि अनुसन्धान अधिकारीले सम्बन्धित व्यक्तिलाई आफ्नो समेत खानतलासी दिनुपर्ने व्यवस्था गरेको छ।

 

यसको उद्देश्य प्रहरीसँग पहिल्यै कुनै वस्तु रहेको अवस्थामा पछि त्यही वस्तु घरबाट बरामद भएको देखाउने जस्ता विवाद नआउन् र बरामदी प्रक्रिया निष्पक्ष रहोस् भन्ने हो।

 

यादवको घरमा प्रहरीले यो प्रक्रिया पूरा गर्‍यो कि गरेन भन्ने विषय पनि अनुसन्धानको एउटा महत्वपूर्ण प्रश्न बनेको छ।

 

ताल्चा फुटाएर प्रवेश गर्न पाउने अधिकार कति ?

 

परिवारका अनुसार प्रहरीले मुख्य प्रवेशद्वारको ताल्चा फुटाएर घरभित्र प्रवेश गरेको थियो।

 

कानूनबमोजिम खानतलासी गर्नुपर्ने अवस्था सिर्जना भएको र सम्बन्धित व्यक्तिले प्रवेश गर्न नदिएको अवस्थामा आवश्यकताअनुसार ढोका वा अन्य प्रवेशमार्ग खोलेर प्रवेश गर्न सकिने व्यवस्था छ।

 

 तर यस्तो अधिकार प्रयोग गर्दा पहिला कानूनी रूपमा खानतलासी गर्नुपर्ने अवस्था स्थापित भएको हुनुपर्ने र अनावश्यक क्षति गर्न नहुने हुन्छ।

 

त्यसैले प्रहरीले ताल्चा फुटाउनु परेको कारण के थियो, घरका मानिसले प्रहरीलाई प्रवेश गर्न रोकेका थिए कि थिएनन् र घरमा भएको क्षतिको विवरण के हो भन्ने विषय पनि स्पष्ट हुनुपर्ने देखिन्छ।

 

संविधानले दिएको गोपनीयताको हक

 

प्रहरीको अनुसन्धान अधिकारसँगै नागरिकको मौलिक अधिकार पनि जोडिएको छ।

 

नेपालको संविधानको धारा २८ ले प्रत्येक व्यक्तिको गोपनीयताको हक सुनिश्चित गरेको छ। यसअन्तर्गत व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनीयता कानूनबमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था छ।

 

यसको अर्थ अपराध अनुसन्धानका क्रममा प्रहरीले घरमा प्रवेश गरी खानतलासी लिन सक्ने भए पनि त्यो काम कानूनले तोकेको प्रक्रिया, कारण र सीमाभित्र रहेर गर्नुपर्छ।

 

दराजबाट नगद र गरगहना लगेको आरोप

 

परिवारले प्रहरीले दराजमा रहेको नगद तथा गरगहना समेत लगेको आरोप लगाएपछि घटना थप गम्भीर बनेको छ।

 

खानतलासीका क्रममा कुनै नगद, गरगहना वा अन्य वस्तु बरामद गरिएको भए त्यसको विवरण बरामदी मुचुल्कामा स्पष्ट रूपमा खुलाउनुपर्ने हुन्छ।

 

प्रहरीले त्यस्ता सामान नलिएको हो भने परिवारले लगाएको आरोपबारे पनि आवश्यक छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ।

 

किनभने अनुसन्धानका नाममा कुनै व्यक्तिको निजी सम्पत्ति कानूनबाहिर गएर लैजान पाइँदैन। यदि त्यस्तो भएको प्रमाणित भए त्यो आफैंमा गम्भीर कानुनी प्रश्न बन्न सक्छ।

 

१७ किलो गाँजा कहाँबाट बरामद भयो ?

 

प्रहरीले यादवको घरबाट १७ किलो गाँजा बरामद भएको दाबी गरेको छ।

 

तर स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरी घरबाट बाहिर निस्कँदा पक्राउ गरिएका  व्यक्तिबाहेक अन्य सामान लिएर गएको आफूहरूले नदेखेको बताएका छन्।

 

यसले प्रहरीको बरामदी दाबीमाथि पनि प्रश्न उठाएको छ।

तर गाँजा बरामद भएको वा नभएको विषयलाई स्थानीयको भनाइका आधारमा मात्र निष्कर्षमा पुर्‍याउनुभन्दा बरामदी मुचुल्का, घटनास्थल, बरामद वस्तुको विवरण, रोहवरमा बसेका व्यक्तिको भनाइ र अन्य प्रमाण बाट परीक्षण गर्नुपर्ने हुन्छ।

 

प्रहरीमाथि उठेको प्रश्नको जवाफ प्रहरीकै जिम्मेवारी

 

अपराध अनुसन्धान र लागुऔषध नियन्त्रण गर्नु प्रहरीको कानुनी जिम्मेवारी हो। घरबाट वास्तवमै १७ किलो गाँजा बरामद भएको हो भने त्यसमा संलग्न व्यक्तिमाथि कानूनबमोजिम कारबाही हुनुपर्छ।

 

तर अपराध नियन्त्रण गर्ने नाममा खानतलासीको कानुनी प्रक्रिया, नागरिकको गोपनीयताको हक र बरामदीको विश्वसनीयतालाई बेवास्ता गर्न मिल्दैन।

 

यस घटनामा प्रहरीमाथि परिवारले लगाएको नगद तथा गरगहना लगेको आरोप, राति २ः२५ बजे गरिएको खानतलासी, ताल्चा फुटाएर घर प्रवेश, वृद्ध महिलासँग गरिएको भनिएको व्यवहार तथा १७ किलो गाँजा बरामदको दाबीबारे निष्पक्ष छानबिन र स्पष्ट जवाफ आवश्यक देखिएको छ।

 

अझ महत्वपूर्ण कुरा, कानूनले प्रहरीलाई दिएको अधिकारको प्रयोग भयो कि अधिकारको आडमा अधिकारको दुरुपयोग भयो ? भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने अवस्था देखिएको छ।

 

प्रहरीको कारबाही सही थियो भने खानतलासीको कानुनी आधार, मुचुल्का, रोहवर, बरामदीको स्थान र प्रमाण सार्वजनिक परीक्षणमा आउँदा प्रहरीकै पक्ष बलियो हुनेछ। यदि प्रक्रिया मिचिएको हो भने त्यसको जिम्मेवारी पनि सम्बन्धित प्रहरी अधिकारीले लिनुपर्ने हुन्छ।

अपराध नियन्त्रण र नागरिक अधिकार एकअर्काका विरोधी विषय होइनन्। कानून कार्यान्वयन गर्ने निकायले नै कानूनको सीमाभित्र रहेर काम गर्नु नै प्रहरीप्रतिको जनविश्वास कायम गर्ने पहिलो आधार हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.