सिरहा । सिरहाको औरही गाउँपालिकामा सञ्चालित माछा पकेट विकास कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार आ.व. २०७८/०७९ मा औरही गाउँपालिकाले प्रगतिशील कृषक समूह औरही ४ सँग १५ लाख रुपैयाँमा माछाको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको थियो । सम्झौता २०७९ साल असार १३ गते भएको थियो ।
सम्झौता अनुसार माछा भुरा, माछा दाना, चुना लगायत सामग्री किसानलाई वितरण गर्नुपर्नेमा कम वितरण गरी पूरा काम भएको भनी झुट्टा बिल भरपाई बनाएर ८ लाख २ हजार ८ सय ७८ रुपैयाँ बढी भुक्तानी लिएको पाइएको आयोगले जनाएको छ ।
आरोपपत्र दायर गरिएका व्यक्तिहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन पशु शाखा प्रमुख रमेश नारायण शर्मा, तत्कालीन लेखापाल आशिष कुमार कामती र प्रगतिशील कृषक समूहका अध्यक्ष राम भजन यादव रहेका छन् ।
सबै जनामाथि ८,०२,८७८ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरिएको छ ।
तपाईको प्रतिक्रिया