प्रतिकात्मक तस्विर
सप्तरी।सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा रहेको कबिर बाबा मन्दिरका पुजारीको आइतवार बिहान गोली हानी हत्या गरिएको छ।
मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहलाई बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरेको परिवारका सदस्य रामसुन्दर साहले बताएका छन्।
स्थानीयका अनुसार साह मन्दिर नजिकैको कुटीमा एक्लै बस्दै आएका थिए। अज्ञात समूहले रातिको समयमा उनलाई कुटीबाट निकालेर सडकमालगि पिठ्युँतर्फ गोली हानेका थिए।
घटना भएको केही मिनेटमै स्थानीयले काचनली प्रहरी चौकीमा खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनबाट टोली पुगेर घटनास्थलको मुचुल्का उठाउँदै अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए। उनका अनुसार पुजारी साहको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
तपाईको प्रतिक्रिया