पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई यस अघि ६ दिनको म्याद दिएको थियो । बिहिवार उनलाई थप ७ दिनको म्याद दिएको छ । पहिलो पटक दिएको म्याद सकिएपछि प्रहरीले उनलाई आज अदालतमा म्याद थपकालागि उपस्थित गराएको थियो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । आज सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।
तपाईको प्रतिक्रिया