जनकपुरधाम १३ जेठ ।
प्रदेश २ सरकारलाई विश्वासको मत दिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार समर्थन फिर्ता लिएको छ ।
सरकारको सय दिन उपलब्धिहीन रहेको र प्रतिपक्षीको मानमर्दन गरेको भन्दै नेकपाले समर्थन फिर्ता लिएको हो ।
एक सय ७ सदस्य रहेको प्रदेशसभामा नेकपाको ३२ साँसद रहेका छन भने कांग्रेसका १९ सांसद रहेका छन्।
गत जेठ ३ गते कांग्रेसलाई प्रमुख विपक्षी दलको रुपमा मान्यता दिएपछि नेकपा उक्त निर्णय प्रति असन्तुष्टी जनाउँदै आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउतले दिएको विवादित भाषणका कारण उत्पन्न तनाव सरकारको समर्थन फिर्तासम्म पुगेको बताईएको छ ।
तत्कालीन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले आज जेष्ठ १३ गते देखि सुरु वर्खे अधिवेशनको पहिलो बैठकमा बोल्दै संसद अवरुद्ध गरे । मण्डलले भने, ‘मोदी भ्रमणका बेला विपक्षीलाई बेवास्ता गर्ने सरकारलाई हाम्रो समर्थन हुँदैन ।’
त्यसैगरी तत्कालीन माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डलले पनि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको बताए । उनले सरकार भ्रष्टचारमा लिप्त भएको र भ्रष्टचारको भागी आफूहरु नबन्ने भन्दै समर्थन फिर्ता लिएको बताए ।
मण्डलले भने, ‘मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो, सरकारले हामीलाई बेवास्ता गरेका कारण हामीले यस्तो कमद चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।’
सरकारको विरोध गर्ने क्रममा नेकपा सांसदहरुले बैठकबाट उठेर सदन पनि अवरुद्ध गरे । मुख्यमन्त्रीले बोल्न समय मागेपछि नेकपा सांसदहरुले उठेर विरोध जनाएपछि संसद अवरुद्ध भएको हो ।
मुख्यमन्त्रीलाई बोल्न नदिइएपछि सभामुख सरोजकुमार यादवले प्रदेश सञ्चालन नियमावली २०७५ को दफा २० अनुसार सभामुखले गरेको निर्णयमा अवरोध गर्न नपाइने भन्दै बैठकमा अवरोध नगर्न आग्रह गरे ।
तर नेकपा सांसदहरुले सभामुख पनि जनता भन्दा माथि नहुने बताउँदै सभामुखले आफ्नो कुरा लाद्न नपाउने जिकिर गरेका थिए ।
तत्काल सरकार नढल्ने
नेकपाले समर्थन फिर्ता लिएपनि प्रदेश सरकारसँग भने बहुमत कायमै छ । १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ संघीय समाजबादी फोरम र राजपा मिलुन्जेल बहुमत कायमै हुनेछ ।
दुवै दलका गरि ५४ जना सांसद छन् भने एकजना स्वतन्त्र सांसदले पनि सरकारलाई नै समर्थन गरेका छन् । सरकार गठन गर्न ठ्याक्कै ५४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
तर अब विपक्षी भने बलियो भएको छ । यसअघिसम्म कांग्रेस बाहेक सवै दल र स्वतन्त्र सांसदको पनि समर्थन सरकारलाई रहेकोमा अब नेकपा र काँंग्रेस विपक्षी दल बन्न पुगेका छन् ।
तपाईको प्रतिक्रिया