वीरगन्ज । प्रहरीले वीरगन्जमा चोरी भएका सुन–चाँदीका विभिन्न गरगहना बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहारको बेतिया जिल्ला–बल्थर थाना सरकिला गाउँका ३३ वर्षीय विजय राय, सोही ठाउँका ६० वर्षीय शेख बुनाद, बेतियाकै आरापिपराका ३१ वर्षीय विनोद राउत तथा पर्सा, वीरगन्ज–३२ टेढाका २० वर्षीय विद्याकुमार नट रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको कब्जाबाट करिब ३७ लाख रुपैयाँ बराबरका सुन–चाँदीका गरगहना बरामद गरिएको छ।
कात्तिक ३० गते वीरगन्ज–३२ मा शंका लागेर रोकिएको लु ९६ प ३७३३ नम्बरको स्कुटीको जाँचका क्रममा शेख बुनादको पाइन्टको दायाँ खल्तीमा सेतो रूमालमा बेरेर राखिएका, बिल–बिजक नभएका केही सुनका गहना फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
शेख बुनादको बयानका आधारमा प्रहरीले टेढास्थित विद्याकुमार नटको घरमा खानतलासी गर्दा ३६ लाख ७० हजार ५१ रुपैयाँ बराबरका विभिन्न सुन–चाँदीका गहनाहरू फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर बस्नेतले जानकारी दिए।
बरामद गहनामा ११ थान सुनका सिक्री, २ थान झुम्का, ३ थान नथिया, २ थान पोतेसहितका माला, १ लकेट, १ औंठी, २ थान मांगटीका, १० थान चाँदीका पाउजु, २ सिक्का, ८ थान सुनका बिछिया, २ थान चाँदीका हातशंकर तथा सुन–चाँदी तौल गर्ने १ थान तराजु रहेका छन्।
यसबाहेक नेपाली ३ लाख ७९ हजार रुपैयाँ तथा भारतीय ९ हजार २०० रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यी गहनाहरू पर्सा तथा बाराका विभिन्न मेला, उत्सव र चाडबाडका भीडभाडमा चोरी गरिएका हुनसक्ने आशंका गरिएको छ।
डीएसपी बस्नेतले बिल–बिजकसहित वास्तविक धनीले दाबी लिएर आएमा आवश्यक प्रक्रिया पूरा गरेर गहना फिर्ता गरिने बताए।
तपाईको प्रतिक्रिया