जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । औपचारिक निर्णय नभइसकेपनि जसपाको महन्थ ठाकुर समूहले सरकारमा जाने तयारीसँगै मन्त्रालय र संख्याबारे छलफल बढाएको छ ।
आज जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेट सरकारमा सहभागिता र राजनीतिक लेनदेनबारे केन्द्रित भएको बुझिएको छ । राजेन्द्र महतोको नेतृत्वमा गृृहसहित दश मन्त्रालय जसपालाई दिने ओलीको तयारी छ ।
मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि यसै हप्ता जसपा सरकारमा जाने निश्चितप्रायः छ । जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने बुझिएको छ । महतोले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय पाउने सम्भावना रहेको छ ।
मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, बिमल श्रीवास्तव, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चितप्रायः छ । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि छन् ।
बालुवाटारमा बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाले बैठकमा जसपाको माग मुद्दा सम्बोधन गराउने विषयमा समीक्षात्मक छलफल भएको जानकारी दिनुभयो । मन्त्रालयको भागवण्डाबारेमा प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति हुनसक्ने तर बैठकमा त्यसबारे जानकारी नगराइएको उहाँले बताउनुभयो ।
तपाईको प्रतिक्रिया